
मेचीनगर, २४ असोज । झापाको मेचीनगरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट ४४ हजार ३५५ रुपैयाँ नगद र सात बुक तास बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार असोज २३ गते राति ११ बजेर २५ मिनेटको समयमा मेचीनगर नगरपालिका–२ स्थित तिलिङ खोलानजिक स्थानीय गोठमा जुवातास खेल भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका ५८ वर्षीय भवानीप्रसाद गुरुङ, मेचीनगर–१ गाडागल्लीका ५४ वर्षीय पुरुषोत्तम बराल, मेचीनगर–३ मन्दिर टोलका ४८ वर्षीय किशोर गोले, मेचीनगर–५ पाण्डव टोलका ३८ वर्षीय डम्बरबहादुर गिरी र मेचीनगर–२ रामनगरका ३० वर्षीय प्रकाश राई रहेका छन् ।
प्रहरीले घटनास्थलबाट नेपाली एक हजार रुपैयाँका ३७ थान, पाँच सय रुपैयाँका १० थान, एक सय रुपैयाँका २१ थान, ५० रुपैयाँका एक थान, २० रुपैयाँका १० थान र पाँच रुपैयाँका एक थान नोट बरामद गरेको जनाएको छ । बरामद नगदको कुल रकम ४४ हजार ३५५ रुपैयाँ रहेको छ ।
घटनास्थलबाट सात बुक ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चाडपर्व नजिकिँदै गर्दा प्रहरीले जिल्लामा जुवातासलगायत गैरकानुनी गतिविधि नियन्त्रण गर्न निगरानी बढाएको छ । प्रहरीले यस्ता गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ ।


