
झापा, २४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति पदमा गगनकुमार थापा भारी मतान्तरले निर्वाचित भएका छन् ।
काठमाडौँस्थित राष्ट्रिय सभागृहमा सम्पन्न मतगणनाको नतिजाअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापति पदमा विजय हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले भने ३७५ मत मात्र प्राप्त गरेका छन् ।
निर्वाचन समितिका अनुसार महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि रहेकामा ७ हजार ३९ जनाले मतदान गरेका थिए । तीमध्ये ५४ मत बदर भएको समितिले जनाएको छ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापतिसहित केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार मतदान भएको थियो। सभापति पदको नतिजा सार्वजनिक भए पनि अन्य पदको मतगणना भने जारी रहेको छ ।
कांग्रेस कार्यसमितिका २३१ पदका लागि ८११ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुसाल र काठमाडौँ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भइसकेका छन् । अन्य पदको मतपरिणाम सार्वजनिक हुन बाँकी रहेकाले नयाँ केन्द्रीय कार्यसमितिको पूर्ण तस्बिर आउन अझै समय लाग्नेछ ।


