
झापा, २५ असोज । देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेकाले आज कोशीसहित विभिन्न प्रदेशका हिमाली तथा पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमानअनुसार हाल हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ ।
त्यस्तै, आज राति पनि हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्न सक्नेछ । रातिको समयमा कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ ।
मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै वर्षा, चट्याङ तथा हिमपातको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमसम्बन्धी सूचनामा ध्यान दिनु उपयुक्त हुनेछ ।


