
झापा, २५ असोज । नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि विधिवत् रूपमा सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ ।
बडादसैँको पहिलो दिन आज घरघरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरिन्छ । यस दिन पूजा कोठा वा दसैँघरमा शक्तिस्वरूपा दुर्गा भवानीको आह्वान गरी पूजा आराधना सुरु गर्ने परम्परा छ ।
घटस्थापनाका दिन नजिकको नदी वा चोखो स्थानबाट बालुवा वा माटो ल्याएर पूजा कोठा वा दसैँघरमा राखिन्छ । त्यसमा जौँ रोपेर जमरा राख्ने चलन छ । विजयादशमीका दिन देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गरिन्छ। जमरालाई समृद्धि र शुभताको प्रतीकका रूपमा लिने गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको साइत बिहान ११ः४७ बजे रहेको छ । समितिका अध्यक्ष प्रा। डा। पुरुषोत्तम भट्टराईका अनुसार सूर्योदयकालमा प्रतिपदा तिथि परेका आधारमा आज घटस्थापना गर्ने निर्णय गरिएको हो ।
नवरात्रभर नौ दुर्गाको पूजा
दसैँको पहिलो नौ दिनलाई नवरात्र भनिन्छ। यस अवधिमा दुर्गा देवीका नौ स्वरूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको क्रमशः पूजा आराधना गरिन्छ।
महाकालीलाई शक्ति, महालक्ष्मीलाई धनधान्य तथा ऐश्वर्य र महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीक मानेर पूजा गर्ने परम्परा छ। दसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा पनि मनाइन्छ।
नवरात्रका अवसरमा दुर्गा सप्तशती, चण्डी, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठ गर्ने तथा शक्तिपीठहरूमा पूजा आराधना गर्ने चलन छ। सातौँ दिन फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीमा विशेष पूजा गरिन्छ।
कात्तिक ४ गते विजयादशमी
यस वर्ष विजयादशमी कात्तिक ४ गते बुधबार परेको छ। समितिका अनुसार उक्त दिन देवी विसर्जनको साइत बिहान ८ः४९ बजे र टीका प्रसाद ग्रहणका लागि उत्तम साइत बिहान १०ः२६ बजे रहेको छ।
विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। त्यसपछि कोजाग्रत पूर्णिमासम्म टीका लगाउने तथा आशीर्वाद लिने परम्परा छ।
बडादसैँलाई धार्मिक आस्था, सांस्कृतिक परम्परा र पारिवारिक पुनर्मिलनको पर्वका रूपमा लिइन्छ। रोजगारी, अध्ययन तथा अन्य कामका लागि घरबाहिर रहेका मानिसहरू दसैँ मनाउन आफ्नो थातथलो फर्कने क्रमसमेत सुरु भएको छ। यसले परिवार र आफन्तबीच भेटघाट, सद्भाव तथा आत्मीयता बढाउने विश्वास गरिन्छ।


