बिर्तामोड, २६ असोज । झापाको बिर्तामोड–४ बाट प्रकाशन तथा प्रसारण हुँदै आएको शब्दपत्र प्रकाशन प्रालिद्वारा सञ्चालित अनलाइन न्युज पोर्टल शब्दपत्र डटकम पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको छ ।
पोर्टलले विभिन्न आरोह–अवरोह पार गर्दै पाँच वर्षको यात्रा सफलतापूर्वक पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको प्रकाशक तथा सम्पादक उद्धव पुरीले जानकारी दिए ।
स्थानीय समाचार तथा सूचनालाई विशेष प्राथमिकता दिँदै आएको शब्दपत्रले छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा स्थापनाकालदेखि साथ, सहयोग र हौसला प्रदान गर्ने कम्पनीका सञ्चालक, सल्लाहकार, शुभचिन्तक, विज्ञापनदाता, पाठक तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेको छ । साथै, आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गरेको छ ।
शब्दपत्रले जस्तोसुकै परिस्थितिमा पनि पत्रकारिताको आचारसंहितालाई आत्मसात् गर्दै आफ्नो यात्रा अघि बढाइरहेको प्रा।लि।का अध्यक्ष बालकृष्ण गिरीले बताए ।
देशमा हुने राजनीतिक उतारचढाव तथा विभिन्न विषम परिस्थितिका बीच पनि पत्रकारितामार्फत पाठकसमक्ष सूचना र समाचार पुर्याउँदै आएको शब्दपत्रले हरेक वर्ष घटस्थापनाका दिनलाई आफ्नो वार्षिकोत्सवका रूपमा मनाउँदै आएको छ ।
यसअघि पनि प्रा।लि।ले वार्षिकोत्सवका अवसरमा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको थियो । छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले आगामी दिनमा पनि निष्पक्ष, जिम्मेवार र विश्वसनीय पत्रकारितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।


