ताप्लेजुङ, २६ असोज । ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । अहिले अलैँची प्रतिमन ९४० किलोग्राम० ८४ हजार रुपैयाँका दरले कारोबार भइरहेको छ ।
चालु सिजनको सुरुआतमा प्रतिमन ९६ हजार रुपैयाँसम्म पुगेको अलैँचीको मूल्य क्रमशः घट्दै गएको हो । एक साताअघि प्रतिमन ८८ हजार रुपैयाँमा कारोबार भएको अलैँचीको मूल्य अहिले घटेर ८४ हजार रुपैयाँमा झरेको व्यवसायीले बताएका छन् ।
नयाँ उत्पादन बजारमा आउन थालेसँगै अलैँचीको मूल्य घट्न थालेको व्यवसायीको भनाइ छ । अलैँची व्यवसायी बालमणि बरालका अनुसार अहिले ओसिलो क्षेत्रका बगानमा उत्पादित अलैँची बजारमा आइरहेको छ । उच्च क्षेत्रमा भने अलैँची पाक्न अझै केही समय लाग्ने उनले बताए ।
“ओसिलो क्षेत्रको अलैँचीले सुरुआती समयमा राम्रो मूल्य पायो । त्यसपछि मूल्यमा उतारचढाव हुँदै अहिले सदरमुकाम फुङलिङमा प्रतिमन ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ,” उनले भने ।
ताप्लेजुङका अधिकांश क्षेत्रमा अलैँचीखेती हुँदै आएको छ । जिल्लाको प्रमुख नगदेबालीका रूपमा रहेको अलैँचीको मूल्यमा हुने उतारचढावले किसानको आम्दानीमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । नयाँ उत्पादन बजारमा आउने क्रम बढेसँगै आगामी दिनमा अलैँचीको मूल्यमा थप उतारचढाव हुनसक्ने व्यवसायीको अनुमान छ ।


