झापा, २६ असोज । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पूजाआजा, होम, हवन तथा दियो बाल्न प्रयोग गरिने अखाद्य चिल्लो पदार्थलाई ‘घिउ’ नाममा उत्पादन, भण्डारण तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ ।
विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै यस्ता उत्पादनमा ‘घिउ’, ‘वनस्पति घिउ’ वा ‘बेकरी सर्टेनिङ’ जस्ता शब्द प्रयोग गर्न नपाइने जनाएको हो ।
विभागका अनुसार अखाद्य चिल्लो पदार्थको स्वरूप, रङ, गन्ध र प्याकेजिङ खाने घिउसँग मिल्दोजुल्दो हुँदा उपभोक्ता झुक्किएर भान्सामा प्रयोग गर्ने जोखिम छ ।
अब पूजाका लागि मात्र उत्पादन गरिने यस्ता पदार्थको प्याकेटमा स्पष्ट देखिने गरी ठूलो अक्षरमा ‘खानको लागि होइन’ लेख्नुपर्नेछ भने कालो रङको ‘X’ चिह्नसमेत अनिवार्य राख्नुपर्नेछ ।
विभागले निर्देशन उल्लङ्घन गरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कानुनी कारबाही हुने चेतावनी दिएको छ ।


