उदयपुर, २७ असोज । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट एक हजार ९९ किलो ८४० ग्राम गाँजासहित दुईवटा पिकअप गाडी बरामद गरिएको छ। गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार असोज २६ गते विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको टोलीले चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित सडक छेउमा शंकास्पद अवस्थामा रोकिराखेको बा।१४ च २२५५ नम्बरको बोलेरो पिकअपबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरेको हो।
उक्त पिकअपको डाला भित्र २९ वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरी, बेलका नगरपालिका–५ देउरालीस्थित प्रहरी चौकी लालबजारबाट खटिएको टोलीले चेकजाँचका क्रममा प्र।१–०२–००२ च ५२९० नम्बरको पिकअपबाट १५९ किलो ४०० ग्राम गाँजा बरामद गरेको छ।
धानको भुस राख्ने बोराभित्र लुकाइछिपाइ राखिएको उक्त गाँजासहित पिकअप चालक सप्तरीको सप्तकोशी नगरपालिका–८ निवासी २८ वर्षीय पशुपति साफीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बरामद गाँजा ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।


