झापा, ३० असोज । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका विभिन्न भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ।
महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल लागेको छ। लुम्बिनी प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने पहाडी भूभागमा आंशिक बदली हुने पूर्वानुमान छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
देशका हिमाली भूभागका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। त्यस्तै, बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति देशका हिमाली भूभागमा सामान्यतया बदली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।
राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।


