झापा, ३० असोज । दुर्गा पक्ष अर्थात् बडादसैँको छैटौँ दिन आज नवदुर्गामध्येकी छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।
वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको पूजा गर्ने चलन छ। विभिन्न पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार देवकार्य पूरा गर्न भगवती देवी कात्यायन ऋषिको आश्रममा सुन्दरी कन्याका रूपमा प्रकट भएकी थिइन्। उनको बालसौन्दर्यबाट प्रभावित ऋषिले पुत्रीका रूपमा स्वीकार गरेकाले उनको नाम कात्यायनी रहन गएको धार्मिक मान्यता छ।
आज दसैँ घर तथा पूजा कोठामा कात्यायनी देवीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिन्छ। नवरात्रका अवसरमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्रको पाठ गर्ने परम्परा पनि छ। देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिअनुसार घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यस दिन नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा गरिएको थियो। दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाता देवीको पूजा आराधना गरिएको थियो।
नवरात्रका नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको पूजा गरिन्छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।
नवरात्रमा नौ दिनसम्म पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने परम्परा छ। कतिपय समुदायमा भने कुल परम्पराअनुसार विजयादशमीका दिन मात्र टीका र जमरा लगाउने चलन छ।
धर्मशास्त्रविद् प्रा। डा। देवमणि भट्टराईका अनुसार शास्त्रीय मान्यताअनुसार दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका र जमरा लगाउन सकिन्छ। यसरी नेपालीले बडादसैँलाई धार्मिक आस्था, परम्परा र पारिवारिक भेटघाटसहित १५ दिनसम्म उल्लासपूर्वक मनाउने गर्छन्।


