झापा, २२ कात्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली भएको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र अन्य प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
महाशाखाका अनुसार सोमबार पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा समेत आंशिक बदली हुने सम्भावना छ।
सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।



