
बिर्तामोड । झापा गोल्डकपको चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ ।
फागुन १८ गतेदेखि सुरु हुने प्रतियोगिताको मुल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गर्दै तयारी अन्तिम पुगेको जनाएको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने फुटबल प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ ।

चौथो संस्करणमा आइपुगेको झापा गोल्डकपको यसपटक मुख्य प्रायोजक मनषा थाइ फुडको उत्पादन मग मग तयारी चाउचाउ रहेको छ । मनषा थाइ फुडका तर्फबाट बुद्धि घिमिरे, झापा गोल्डकपका तर्फबाट अध्यक्ष महेन्द्रकुमार गिरी र झापा ११ एफसीका अध्यक्ष जलकुमार गिरीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।मग मगले यसपटक गोल्डकपलाई नगद ८ लाख र झापा ११ एफसीलाई नगद ५ लाखसहित एक लाखबराबरको खेल सामग्री प्रदान गर्ने सम्झौता पत्रमा उल्लेख छ । घरेलु उत्पादन मग मगले गोल्डकप र खेलकुदको विकासका लागि सक्दो सहयोग गर्ने बताइएको छ ।

झापा गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउनेछन् । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने सर्वाधिक गोलकर्तालाई नगद २५ हजार दिइनेछ । प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद १५ हजार रुपैयाँ पाउने गोल्डकपका अध्यक्ष गिरीले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई यस वर्ष पनि एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लबसहित नेपालका ९ र हङकङको एक गरी १० वटा टिमको सहभागिता रहनेछ । तीन विभागीय टिम त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल र नेपाल पुलिसका साथै मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, मोरङ ११ फुटबल क्लब, रुपन्देही फुटबल क्लब, सहारा क्लब पोखरा र हङकङ नेप्लिज एकाडेमीले सहभागिता जनाउनेछन् ।
अघिल्लो वर्षजस्तै चौथो संस्करणको उद्घाटन समारोहमा पनि झापा जिल्लाका दुई जना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने भएको छ । यो सम्मान कार्यक्रमलाई गोल्डकपको हरेक संस्करणमा निरन्तरता दिइने बताइएको छ ।
यस वर्षदेखि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ । यो रकम प्रत्येक वर्ष गोल्डकप उद्घाटनको दिन प्रदान गरिने अध्यक्ष गिरीले बताए ।
गोल्डकप सम्पन्न गर्न आयोजकले कम्तिमा एक करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । बचत २५ लाख
गोल्डकपको सम्पूर्ण खर्च कटाएर कम्तिमा २५ लाख रुपैयाँ यसपटक बचत गर्ने आयोजकको लक्ष्य छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


