
बिर्तामोड, २३ फागुन । तीन वटा प्रतिष्ठित गोल्डकपको उपाधी हात पार्न सफल क्यामरुनको दाउफिन्स फुटबल क्लब मगमग झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । बिहीबारको खेलसँगै झापा गोल्डकपमा पहिलो चरणका खेलहरु सकिएका छन् ।
लाली रुपन्देही ११ सँग भएको प्रतिष्पर्धामा जीत हासिल गरेसँगै दाउफिन्सले सेमीफाइनलमा त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्ने छ । आर्मीले यसअघि शसस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । पोखरामा भएको आहा रारा गोल्डकपको सेमीफाइनलमा आर्मीले दाउफिन्सलाई १−० गोलले पराजित गरेको थियो ।

दाउफिन्सले खेलको ३८ औं मिनेटमा अग्रता लिएको थियो । रुपन्देहीका पेपी अडामाले दाउफिन्सका मिसोउली इटिग्नेलाई डि बक्सभित्र फाउल गरेपछि दाउफिन्सले पेनाल्टी पाएको थियो । पेनाल्टीमा दाउफिन्सका पेट्न्गाले गोल गरेका थिए । खेलका् ८७ औं मिनेटमा मैदानको मध्यभागबाट मिसोउली इटिग्नेले गरेको प्रहारले जाली चुमेसँगै दाउफिन्सले अग्रता दोब्बर बनायो । रुपन्देहीका गोलरक्षक अगाडी बढेको समयमा मैदानको मध्यभागबाट इटिग्नेले पोष्टमा प्रहार गरेका थिए ।
खेलको अधिकांस समय रुपन्देहीले बललाई आफ्नो पकडमा राख्न सफल भए पनि पोष्टमा गरेको प्रहार फितलो हुँदा गोल गर्ने अवसरबाट बञ्चित भयो । खेलको २३ औं मिनेटमा रुपन्देहीका लागि बिदेशी खेलाडी मन्सा विअभोगीले डि एरियामा मिलाई दिएको पासलाई निरबहादुर बलले कडा प्रहार गरे पनि दाउफिन्सका गोलरक्षक प्रिसो जाङगाले उत्कृष्ठ बचाउ गरेका थिए ।

३२ औं मिनेटमा दाउफिन्सका टिना टिनाले खाली पोष्टमा गोल गर्न सकेनन् । ७७ औं मिनेटमा टिना टिनाले वान भर्सेस वान गोल गर्न सकेनन । खेलको म्यान अफ द म्याच बिजेता टीम दाउफिन्सका मिसोउली इटिग्ने घोषित भए । उनले नगद १५ हजार रुपैंयाँ पुरस्कार पाए । दाउफिन्सले यो सिजनमा तिलोतमा, मनकामना र बुढासुब्बा गोल्डकपको उपाधि हात पारिसकेको छ ।
शुक्रबारको पहिलो सेमीफाइनल खेल मगमग झापा ११ र रुस्लान थ्रि स्टार क्लबबीच हुने आयोजक समितिका संयोजक महेन्द्र गिरीले जानकारी दिए ।
खेलपछि भएको पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै बिजेता टीम दाउफिन्सका मेनेजर आशिक थापा मगरले टीमले सन्तोषजनक नतिजा दिएको बताए । उनले दाउफिनसले रफ खेल्छ भन्ने आरोपको खण्डनका लागि पनि खेलाडीलाई सचेत गराएकाले राम्रो खेल प्रस्तुत गरेको बताए ।
पराजित टीम रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले शुरुमा स्कोर गर्न पाएको अवसर सदुपयोग हुन नसकेपछि दवावमा खेल्नु परेको हुनाले परिणम आफ्नो पक्षमा नपरेको बताए । उनले शारिरिक रुपमा बलिया खेलाडीसँग आफ्ना खेलाडीले सन्तोषजनक प्रदर्शन गरेको बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

