
कनकाई, २५ फागुन । १०९ औँ नारी दिवसको अवसर पारेर झापाको कनकाई नगरपालिकामा चौथो जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताको आयोजना गरिएको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा स्थानीय कनकाई माविको खेल मैदानमा गत फागुन १८ गतेदेखि सञ्चालित फुटबल प्रतियोगिताको फाइनल खेल नारी दिवसको अवसर पारेर शुक्रबार गरिएको हो । कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको महिला टिमबीच भएको फाइनल खेलमा कनकाई नगरपालिकाले शिवसताक्षीलाई ट्राइब्रेकरमा पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
विजयी कनकाई नगरपालिकाले नगद ६० हजार र उपविजयी बनेको शिवसताक्षी नगरपालिकाले नगद ४० हजार पुरस्कार पाए । बिजयी तथा उपविजयी हुने टिमलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसाई लगायातले ट्रफी र नगद प्रदान गर्नुभयो ।
खेलको उत्कृष्ट खेलाडी कनकाईकी गंगा श्रेष्ठले नगद ५ हजार रुपैँया पाउनुभयो । प्रतियोगितामा झापाका ८ पालिकाका महिला टिमको सहभागिता रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

