
डल्लास, २१ चैत । अमेरिकाका टेक्सास राज्यमा सञ्चालित एक प्रविधि कम्पनीमा कार्यरत २८० जनाभन्दा बढी कर्मचारीलाई अमेरिकी आप्रवासन अधिकारीहरुले गिरफ्तार गरेका छन्।
एक दशकयता अमेरिकी इतिहासमै कुनै कम्पनीबाट यतिठूलो संख्यामा कामदारहरु धरपकड गरिएको यो पहिलो पटक हो।
अमेरिकी आप्रवासन तथा भन्सार कार्यालयका अनुसार सङ्घीय जाँच एजेन्टहरुले बुधबार टेक्सासस्थित सीभीई टेक्नोलोजी ग्रुपमा कार्यरत २८० जना कर्मचारीलाई पक्राउ गरेका हुन्। यो कम्पनी डल्लासबाट करिब २४ किलोमिटर उत्तरपूर्वको अलेनमा रहेको छ
सङ्घीय जाँच एजेन्सीले गैरकानुनी रुपमा अमेरिकामा बसोबास गरिरहेका व्यक्तिहरु उक्त कम्पनीमा कार्यरत रहेको दाबी गरेको छ, तर पक्राउ परेका व्यक्तिहरुका बारेमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
एजेन्सीले गैरकानुनी रुपमा अमेरिकामा बसोबास गरिरहेका व्यक्तिलाई काममा लगाएको सूचनाका आधारमा छापा मारेको जनाएको छ।
सीभीईमा कार्यरत येसेनिया पोन्सले सङ्घीय जाँच निकायले गरेको धरपकड निकै कहालीलाग्दो रहेको बताउँदै सहकर्मीहरुलाई पक्राउ गरिएको विरोधमा प्रदर्शन समेत भएको जानकारी दिए।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

