
सुरुङ्गा , १३ जेठ । झापाको शिवसताक्षी नगरपालिका ३ पारावारीमा आयोजित तेस्रो प्रदेश स्तरीय खुल्ला पुरुष भलिबलको उपाधि झापा गाउँपालिका शरणामतीले हात पारेको छ ।
आज ( सोमवार ) सम्पन्न फाइनल खेलमा छिमेकी टिम कनकाई नगरपालिका झापालाई पराजित गर्दै शरणामतीले नगद १ लाख १ हजार सहितको उपाधि रक्षा गरेको हो ।
दोस्रो बनेको कनकाई नगरपालिकाको टिमले भने नगद ५१ हजार रुपैँया र ट्रफि पाएको छ । यो जितसगै झापा गाउँपालिकाले यहि एक सातामै दुई उपाधि जितेको छ । गत शनिवार मात्रै झापा गाउँपालिकाले समेत सुनसरीको इनरुवामा जारी प्रदेश स्तरीय प्रतियोगिताको समेत उपाधि जितेको थियो ।
वडा खेलकुद विकास समिति शिवसताक्षी वार्डनम्बर ३ पारावारीको आयोजनामा पारावारीमा गत विहिवारदेखि आयोजित प्रतियोगितामा प्रदेश नम्बर १ का १२ टिमको सहभागिता रहेको थियो । बिजयी तथा उपबिजयी टिमलाई शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, वडाअध्यक्ष पुण्यप्रसाद सापकोटा, अव्यवस्थित बसोवास विकास समितिका अध्यक्ष राधाकृष्ण खनाल, नगर खेलकुद समितिका राजु श्रेष्ठ, नेकपाका नगर अध्यक्ष महेन्द्र भट्टराईलगायतले नगद तथा ट्रफि प्रदान गर्नुभयो ।
प्रतियोगिताका सर्बोउकृष्ट खेलाडी बिजयी टिमका घनश्याम गुरुङ्ग हुनुभयो । उहाँले नगद ५ हजार रुपैँया पाउनुभयो । यसैगरि प्रतियोगितमा उत्कृष्ट ब्लकर बिजयी टिम शरणामतीकै मिलन गुरुङ्ग, बेष्ट सर्टर शरणामतीकै मिलनचन्द्र ठकुरी, बेष्ट सर्भिस शरणामतीकै दिन राणा, यसैगरि बेष्ट क्युकर कनकाई नगरपालिकाका सुरज चौधरी, बेष्ट लिब्रो कनकाई नगरपालिकाका गणेश कटुवाल र बेष्ट स्पीकर कनकाईकै मनिस गौतम हुनुभएको आयोजक समितिका संयोजक लासाङ्ग दोर्जे तामाङ्गले बताउनुभयो ।
यसअघि यस क्षेत्रका ३ बिद्यालयहरु भानु मावि, पाथिभरा प्रावि र शान्ति आधारभुत प्राविलाई भलिबल खेलको बृद्धि विकासका लागि वल र नेट प्रदान गरिएको थियो । प्रतियोगिताको प्रथम पुरस्कार स्थानीय समाजसेवी टिका तामाङ्गले सौजन्य गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

