
सन्तोष शर्मा
बिर्तामोड, ३ साउन । विद्यालयले अत्याधिक शूल्क बृद्धि गरेको भन्दै झापाको बिर्तामोड–५ स्थित देवी माविमा विद्यार्थीले तालाबन्दी गरेका छन् ।
विद्यालयले २४ प्रतिशतभन्दा बढी शुल्क बृद्धि गरेपछि नेविसंघ २ नम्बर क्षेत्रीय समितिले तालाबन्दी गरेको हो । विद्यार्थी र अभिभावकको ढाँड भाँच्ने गरी शुल्क बृद्धि गरिएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको नेविसंघका नेता मिलन चापागाईंले बताउनुभयो ।

‘अघिल्लो वर्ष भर्ना शुल्क ५ हजार थियो, यो वर्ष बढाएर ८ हजार बनाइएको छ’, तालाबन्दीको कारण खुलाउँदै उहाँले भन्नुभयो, ‘मासिक शुल्क पनि १२ सयबाट १५ सय बनाइएको छ ।’ सरसफाइ लगायत अन्य शीर्षक थप गरेर अत्याधिक शुल्क बृद्धि गरिएको जनाइएको छ ।
विद्यालयमा तालाबन्दी गरिए पनि विद्यालय व्यवस्थापन समितिले कुनै चासो नदिएको नेविसंघ क्षेत्रीय समितिले जनाएको छ । शुल्क बृद्धि फिर्ता लिन पटक–पटक आग्रह गरिए पनि कुनै सुनुवाई नभएपछि असार ३१ गते विद्यालयको लेखा शाखामा पनि तालाबन्दी गरिएको चापागाईंले बताउनुभयो ।
यता, विद्यार्थीले तालाबन्दी गरे लगत्तै विद्यालयले आकस्मिक सूचना जारी गरेर विद्यालय बिदा गरेको छ । कक्षा–१० सम्मका विद्यार्थीलाई साउन ४ गतेसम्म बिदा दिइएको छ ।
नयाँ शैक्षिक सत्रका लागि कक्षा–११ को साउन १ गतेदेखि कक्षा सञ्चालन हुने भनिएकोमा अर्को सूचना प्रकाशन नभएसम्मका लागि कक्षा सञ्चालन स्थगित गरिएको छ ।
उता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानुराम प्रसाईंले आग्रह–पूर्वाग्रहका आधारमा विद्यालयमा तालाबन्दी गरिएको बताउनुभयो । ‘जिल्लाभरको विद्यालयमा शुल्क बृद्धि भएको छ’, उहाँले भन्नुभयो, ‘देवि माविमै किन तालाबन्दी गरियो, यसमा राजनीतिक पूर्वाग्रह छ ।’ अभिभावक र विद्यालय व्यवस्थापन समिति बीच भएको छलफलमा शुल्क बृद्धिका विषयमा अभिभावकहरुले कुनै गुनासो नगरेको अध्यक्ष प्रसाईंले दाबी गर्नुभयो ।
अन्य निजी विद्यालयमा विज्ञान संकायमा मासिक रू ३ हजारभन्दा बढी शुल्क भएको बताउँदै अध्यक्ष प्रसाईंले देवि माविमा रू १ हजार ५ सय मात्र रहेको स्पष्ट पार्नुभयो ।
हाल देवि माविमा कक्षा–११ र १२ मा २ हजार २ सय विद्यार्थी अध्ययनरत छन् भने ८० जना शिक्षक÷कर्मचारी रहेका छन् । जसमध्ये दुई जना शिक्षक बाहेक अन्य सबै शिक्षक कर्मचारीलाई आन्तरिक स्रोतबाट तलबभत्ता प्रदान गरिँदै आएको अध्यक्ष प्रसाईंले बताउनुभयो ।
‘५० वटा कक्षा कोठामा २२ सय विद्यार्थी अध्ययनरत् छन्’, अध्यक्ष प्रसाईंले भन्नुभयो, ‘७० जना शिक्षकलाई तबल दिनुपर्छ, विद्यालय त्यसै चल्दैन ।’ वार्ता र छलफलको माध्यमबाट समस्याको समाधान गर्ने प्रयास भइरहेको र चाँडै निकास निस्किने उहाँले बताउनुभयो ।
विद्यालयमा नेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसंघले संयुक्त रुपमा तालाबन्दी गरे पनि अनेरास्ववियु र अखिल क्रान्तिकारीले आफूले लगाएको ताला खोलेका छन् भने नेविसंघको तालाबन्दी यथावत छ ।
माग पूरा नभएसम्म तालाबन्दी नखोलिने र माग पूरा नभए कडा संघर्षमा उत्रिने नेविसंघले जनाएको छ । एक साता अघिदेखिको तालाबन्दीका कारण सयौँ विद्यार्थी पठनपाठनबाट बञ्चित भएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
