
ताप्लेजुङ, १४ मङ्सिर । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा आगामी फागुनमा हुने पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवमा हेलिकप्टरमार्फत कञ्चनजङ्घा हिमशृङ्खलासहितका पर्यटकीय क्षेत्रको अवलोकन गर्न पाइने भएको छ । फागुन ९ देखि १३ गतेसम्म ताप्लेजुङमा हुने महोत्सवमा म्याराथनसहित विभिन्न खेलकूद प्रतियोगिताका साथै जिल्लाका पर्यटकीय क्षेत्रको अवलोकनलगायतका कार्यक्रम राखिएको छ ।
“पाथीभरा देवीको दर्शन, मेची पर्यटन हाम्रो आकर्षण” भन्ने मूल नाराका साथ पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति र पाथीभरा क्षेत्र विकास समितिले संयुक्तरूपमा महोत्सवको आयोजना गरेका हुन् ।
महोत्सव अवधिभर विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, जैविक विविधताले भरिपूर्ण क्षेत्रमा रहेको तिम्बुङ पोखरी, फुङफुङे झरनालगायतका पर्यटकीय क्षेत्रको हेलिकप्टरमार्फत अवलोकन गराइने सचिवालय समितिका संयोजक तारानाथ घिमिरेले जानकारी दिनुभयो ।
अवलोकनका लागि भाडादर भने निर्धारण भइसकेको छैन । अवलोकन क्षेत्र, समय र भाडादर चाँडै सार्वजनिक गरिने बताइएको छ । पाथीभरा मन्दिर, तिम्बुङ पोखरी र फुङफुङे झरना भने सरकारले पर्यटन प्रवद्र्धनका लागि पहिचान गरेका १०० वटा पर्यटकीय गन्तव्यमा परे पनि यी क्षेत्र अझै पर्याप्त पूर्वाधार तथा विकास र प्रचारप्रसारको अभावमै छन् ।
पाथीभरा मन्दिरसहित पूर्वका धार्मिक, साँस्कृतिक र प्राकृतिक पर्यटकीय क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुने महोत्सवमा भेडीगोठ र चाँैरीको समेत अवलोकन गर्न पाइने छ । पाथीभरा मन्दिरको उत्पत्तिसम्बन्धी किंवदन्ती भेडीगोठसँग जोडिएको र पछिल्लो समयमा व्यावसायिकरूपले भेडा र चौँरीपालनसमेत घट्दै गएको सन्दर्भमा भेडीगोठ र चौँरीको अवलोकन कार्यक्रम बनाइएको हो । यो महोत्सवको प्रमुख आकर्षणमा पर्ने आयोजकको विश्वास छ ।
यस्तै महोत्सव अवधिभर नै कृषि मेला प्रर्दशनी, औद्योगिक हस्तकला तथा शिल्पकला प्रर्दशनी, खाद्य परिकार महोत्सव, फोटो प्रर्दशनी, स्थानीय जातजाति तथा समुदाय विशेष साँस्कृतिक कार्यक्रमका साथै झाँकी प्रर्दशनीसमेत हुनेछ । महोत्सवमा मेचीका सबै जिल्लाले एक–एक वटा स्टलसमेत राख्नेछन् । सदरमुकाम फुङलिङदेखि तीन हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरसम्म म्याराथन दौड हुनेछ भने हरेक दिन प्याराग्लाइडिङसमेत हुनेछ । महोत्सवका अवसरमा मेयरकप भलिबल प्रतियोगिता, बुद्धिचाललगायतका खेलकूद प्रतियोगिता पनि सञ्चालन हुने बताइएको छ ।
महोत्सवलाई सभ्य बनाउँदै भव्यताका साथ सम्पन्न गर्न ५०१ सदस्यीय मूल समारोह समिति गठन भएको छ भने तीन सदस्यीय संरक्षक समिति, १५ सदस्यीय सल्लाहकार समिति, ४३ सदस्यीय सचिवालय तथा २६ वटा उपसमितिहरु गठन भएको शुक्रबार सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
पूर्वकै प्रमुख धार्मिकस्थल पाथीभरा, तिम्बुङ पोखरी, विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, झण्डै तीन सय मिटर अग्लो फुङफुङे झरना, ४०० वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा, सोदु पोखरी, तिनजुरे मिल्के जलजले९टिएमजे० पाँचथरको सिलौटे, लव्रेकुटी, साधुटार, इलामको कन्याम, श्रीअन्तु, माईपोखरी, सन्दकपुर, गजुरमुखी तथा झापाको केचनाकल, शिवसताक्षी धाम, दोमुखा, जामुनखाडी, अर्जुनधारा जस्ता मेचीका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासमा जोड दिँदै यहाँको पर्यटन प्रवद्र्धनमा महोत्सवबाट योगदान पुग्ने आयोजकको विश्वास छ । रासस
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

