
रूपेन्द्र शेर्मा
उर्लाबारी, २८ मंसिर ।
‘मैले जिन्दगीमा धेरै धेरै दुःख पाएँ
दुःख सुख गर्दैै यहाँ सम्म आएँ’
एउटा सडक बालक, जो अहिले कसैको सहारामा विद्यालय पढ्छन् । उनको नाम हो–विक्रम लावती । भर्खर १० वर्ष पुगेका विक्रम आफ्ना अभिभावकबाट सहाराविहीन भएपछि विरक्तिएर घर छाडेर भौतारिन थाले । कहिले झापाको दमक त कहिले मोरङको उर्लाबारीमा चिसो मौसममा रात विताउन थाले । उनको विजोग देखेर उर्लाबारी–७ स्थित बेथेल एजुकेशनल एकाडेमीका संस्थापक प्रिन्सीपल दिपक न्यौपानेको मन पग्लियो । तीनै न्यौपानेको सहारामा ती बालक अहिले कक्षा–१ मा पढ्छन् । विद्यालयले शुक्रबार आयोजना गरेको चौंथो वार्षिक खेलकुद कार्यक्रममा विक्रमले आफ्नो गीतको शब्दहरु यसरी पोखे–
‘कहाँ पुग्यो थाहा छैन जिन्दगीको गोरेटेमा
भगवान विन्ती गर्छु नछुट्नु है दोबाटोमा’
अभिभावक भएर पनि सहाराविहीन बनेका विक्रमले आफ्ना गीतमा पोखेका ती शब्दहरु झैं ठ्याक्कै उनको जीवन मेल खान्छ । यी बालक पाँचथरको मौवामा जन्मेका थिए । तर आमा मादक पदार्थ सेवन गरिरहने र बुबा आफ्नो सन्तानका लागि सहि अभिभावकत्व ग्रहण गर्न असक्षम भएपछि सडकमा जीवन विताउन वाध्य विक्रमका लागि अहिले जीवनको नयाँ आयाम सुरु भएको छ । जव उनको खान, वस्न र पढ्नका लागि वेथेल एजुकेशन एकाडेमीले जिम्मा लियो तव उनको जीवनको नयाँ आयाम सुरु भएको हो । उनलाई कक्षा–१० सम्म पढाउने जिम्मेवारी लिएको वेथेलले सामाजिक जिम्मेवारी पुरा गर्न खोजेको छ । सो विद्यालयले आफूले संकल्प गरेको प्रतिबद्धता पुरा गरोस् भन्ने विक्रमको चाहाना छ । सायद उसको जिन्दगी त्यसैमा अडिएको छ ।
सयौं विद्यार्थी, अविभावक, अतिथि र सञ्चारकर्मीहरु समक्ष विक्रमले उक्त बोलको गीत पश्केको थिए । कार्यक्रमका प्रमुख अतिथि नेशनल प्याब्सन प्रदेश–१ का सहसचिव अग्नी कोइरालाले विक्रमको गीतलाई मन पराएर भनौ यात उनलाई प्रोत्साहन गर्ने मनसायका साथ एक हजार रुपैयाँ प्रदान गरेका थिए । आशा गरौं भविष्यमा विक्रमलाई साँगीतिक आकाशमा उदाउन यो नगद उपहार प्रेरणाका स्रोत हुनेछ । शायद यीनै कल्पनाका साथ प्रमुख अतिथि कोइरालाले विक्रमलाई नगद उपहार प्रदान गरेका थिए ।
संस्थापक प्रिन्सीपल न्यौपानेको अध्यक्षतामा भएको खेलकुद कार्यक्रममा उर्लाबारी प्याब्सनका अध्यक्ष सुरेन्द्र सुवेदी, अरनिको अस्पतालका अध्यक्ष लोलिम पोमु, पार्लेन्स इन्टरनेशनल एकाडेमीका प्रिन्सीपल हेमचन्द्र भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

