
काठमाडौं, ९ पुस । गृह मन्त्रालयले भोलि बिहीबार देशैभरी सार्वजनिक विदा दिने तयारी गरेको छ । भोलि बिहान नेपालसहितका देशमा खण्डग्रास सूर्यग्रहण लाग्ने भएकोले गृह मन्त्रालयले अधिराज्यभर बिदा दिने तयारी गरेको हो । यो प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको छ ।
विदाको लागि मात्रै मन्त्रिपरिषद बस्ने प्रचलन भने छैन । अब यो प्रस्तावको निर्णयका लागि गृह मन्त्रालयले पठाएको प्रस्ताव प्रधानमन्त्रीकहाँ पठाइन्छ । मन्त्रिपरिषदको अध्यक्षको हैसियतमा प्रधानमन्त्रीको स्वीकृतिपछि यो प्रस्ताव मुख्य सचिवले प्रमाणीकरण गर्छन् । प्रमाणीकरण भएसँगै यो प्रस्तावले मन्त्रिपरिषदबाट पारित भएसरहको मान्यता पाउनेछ ।
भोलि लाग्ने खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंका लगायत एशियाका सबै देश, हिन्दमहासागर, मलेशिया, पूर्वी युरोप, उत्तररपश्चिम ऑस्ट्रेलिया, पूर्वी अफ्रीका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ ।
नेपाली समय अनुसार बिहानको ८ बजेर ४२ मिनेटमा स्पर्श हुने र १० बजेर ०१ मिनेटमा मध्य हुने र ११ बजेर ३१ मिनेटमा मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि २ घण्टा ४९ मिनेटको रहनेछ । विशेष यो खण्डग्रास सूर्यग्रहण पश्चिम र दक्षिणको बीच तर्फबाट स्पर्श भई पूर्व र दक्षिण को बीचमा मोक्ष हुनेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

