
बिर्तामोड, २३ पुस । झापाको बिर्तामोड नगरपालिकाले किसान विद्रोहका क्रममा ९ वर्ष ३ महिना कठोर जेल जीवन बिताउनुभएका योद्धा टंकप्रसाद चौधरीका लागि घर निर्माण गरिदिने भएको छ ।
विसं. २०२८ सालमा भएको किसान विद्रोहका क्रममा ७० वर्षीय चौधरीले कठोर जेल जीवन बताउनुभएको थियो । उहाँ हाल बिर्तामोड–ं४ मा आफन्तकोमा आश्रय लिएर बसिरहनुभएको छ । स्थानीय सामाजसेवी भक्तिप्रसाद तिवारीले साढेपाँच धूर जग्गा निःशुल्क उपलब्ध गराएपछि सो जग्गामा नगर पालिकाले घर निर्माण गरिदिन लागेको नगर प्रमुख ध्रुवकुमार शिबाकोटीले जानकारी दिनुभयो ।
तिवारीले प्रदान गर्नुभएको सो जग्गाको धनीपूर्जा हिजो नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच चौधरीलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा नगर प्रमुख शिवाकोटीले यसै वर्ष चौधरीको आवास निर्माण गरिने बताउनुभएको हो । जग्गादाता तिवारीले आफूले राजनीतिक योद्धालाई सहयोग गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभयो ।
साथै, चालू आर्थिक वर्षमा बिर्तामोड नगरपालिकाले २०० वटा गरीब तथा विपन्नलाई आवास निर्माण गर्नेसमेत जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

