
बिर्तामोड, २३ पुस । निर्माणाधीन ‘झापा नाटक घर’ का लागि ‘एक इँटा अभियान’ अन्तरगत बिर्तामोडका सक्रिय युवाहरुको संस्था ‘एक्टिभ नाइन’ ले नौवटा इँटा सहयोग गरेको छ । नाटक घर निर्माणमा हरेक नागरिकको सहभागिता रहनुपर्छ भन्ने मान्यताका साथ ‘एक्टिभ नाइन’ ले संस्था स्थापनाको दोस्रो वर्षका अवसरमा मंगलवार आफ्नो तर्फबाट नौवटा इँटा प्रतिकात्मकरुपमा सहयोग गरेको हो ।
पञ्चेवाजाको संरक्षण र प्रवद्र्धनमा ‘एक्टिभ नाइन’ ले आफूलाई झापामा स्थापित गरिसकेको छ । शंखध्वनि प्रतियोगिता गराएर पनि एक्टिभ नाइनले समाज रुपान्तरणको अभियानमा आफूलाई अब्बल सावित गरेको हो । कला साहित्यको संरक्षणमा पनि योगदान गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै झापा नाटक घर निर्माणका लागि एक इँटा अभियानमा सहभागिता जनाएको एक्टिभ नाइनका अध्यक्ष गोविन्द निरौलाले बताए । ‘नाटक घर निर्माणको अभियानमा हाम्रो एउटा इँटाले अरु नागरिकलाई पनि सहयोग गर्न प्रेरित गर्छ’, अध्यक्ष निरौलाले भने ।
नाटक घर पूर्वको ऐतिहासिक धरोहर हुने भएकाले सबैको सहयोग जरुरी हुने एक्टिभ नाइनका सदस्य रोहित भट्टराई बताउँछन् । आफ्नो संस्थाको सहयोगको औचित्य प्रष्ट्याउँदै उनले भने, ‘यो अभियानमा हाम्रो सहभागिता सधैँ रहनेछ ।’ संस्थाका सदस्य सुरेशकुमार खतिवडाले एक इँटा अभियानमार्फत संस्थाका तर्फबाट नौवटा इँटा हस्तान्तरण गरेर सन्देश दिन खोजिएको बताए । एक्टिभ नाइनले नाटक घर निर्माणस्थलमा गएर इँटा हस्तान्तरण गरेको हो ।
बिर्तामोड–१ स्थित देवी पञ्चकन्यादेखि एक किलोमिटर उत्तरमा झापा नाटक घर बनिरहेको छ । क्षितिज नाट्य समूहको अग्रसरतामा निर्माण भइरहेको नाटक घरका लागि झापाका विभिन्न वाणिज्य बैकले ‘एक इँटा अभियान’ घोषणा गर्दै सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । बैङकर्सहरुको प्रतिवद्धता कार्यान्वयनमा नआउँदै ‘एक्टिभ नाइन’ ले यो अभियानको सुरुवातमा बाजी मारेको हो । एक्टिभ नाइनको सहयोगलगत्तै चारपानेको श्रीराम इँटा उद्योगले पनि एक ट्रयाक्टर इँटा सहयोग गरेको क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पितले बताए ।
एक्टिभ नाइनले निर्माणस्थलमा आयोजना गरेको कार्यक्रममा बोल्दै निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईले जातिय सङ्ग्रहालयसहितको झापा नाटक घर निर्माणमा सबै नागरिकको सहभागिता रहने गरी एक इँटा अभियान सुरु गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रसाईले भने, ‘एक्टिभ नाइनको सहयोग आफैँमा सकारात्मक कदम हो । यसले सहयोगका लागि अरु नागरिकलाई पनि प्रेरित गर्छ ।’
पर्याप्त बजेटको अभावमा झापा नाटक घरको निर्माण अलपत्र जस्तै भएको अवस्थामा नागरिक तहबाट सहयोग जुट्न थालेको हो । सबै पक्षको सहयोगले यसको निर्माण सम्पन्न हुने निर्माण व्यवस्थापन समितिका सह संयोजक कुमार भट्टराई बताउँछन् । बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष समेत रहेका भट्टराईले भने, ‘सबैले सकेजति सहयोग गर्ने हो भने चाँडै यसको निर्माण पूरा हुन्छ ।’
बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले झापा नाटक घर निर्माणका लागि नगरपालिकाको तर्फबाट बर्सेनि सहयोग जारी रहेको भन्दै एक नम्वर वडामा रहेका सबै टोल समितिलाई पनि सहयोगका लागि आह्वान गरिने बताए । ‘हाम्रो वडाका लागि झापा नाटक घर झन् गौरवको विषय हो’, वडाध्यक्ष पाण्डेले भने, ‘यसलाई एउटा आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न हामी गम्भीर र प्रतिवद्ध पनि छौँ ।’
चालु आर्थिक वर्षमा झापा नाटक घर निर्माणका लागि नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको छ । अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकारले १५ लाख रुपैयाँ सहयोग गरेको थियो । विभिन्न क्षेत्रबाट घोषणा भएको सहयोग रकम आउने क्रम जारी रहेको क्षितिज नाट्य समूहकी महिला उपाध्यक्ष सुजना खतिवडा बताउँछिन् । असार ११ गते बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटी र उपप्रमुख पवित्रा महताराले शिलान्यास गरेको झापा नाटक घर आर्थिक अभाव भएपछि निर्माणाधीन अवस्थामा अलपत्र छ ।
नाटक घर निर्माणका लागि १ करोड २४ लाख रुपैयाँ आवश्यक पर्ने अध्यक्ष कल्पित बताउँछन् । झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक प्रसाईका अनुसार सङ्घ र प्रदेशका सांसदको विकास कोषबाट २५ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । प्रसाईको अगुवाईमा नाटक घर निर्माणमा बिर्तामोडका एक दर्जन सङ्घसंस्था अग्रसर छन् ।
बिर्तामोड– १ का मनोज निरौलाले निः शुल्क प्रदान गरेको साढे तीन कठ्ठा जग्गामा नाटक घर निर्माण थालिएको हो । एक बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको झापा नाटक घर ८० फुट लम्बाई र ७० फुट चौडाइको रहनेछ । नाटक घरभित्र दर्शक प्रेक्षालय, कलाकार आवास गृह, भोजनालय, कार्यालयसहित तीन सय ५० जना दर्शक क्षमता भएको भवन हुनेछ । यसअघि झापा नाटक घर निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले समूहले विर्तामोडमा नाटक ‘बर्बरिक’ मञ्चन गरेको थियो । आजको विवेचना दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

