
इटहरी, २३ पुस । सुनसरीको इटहरीमा नेपालमै पहिलो पटक स्मार्ट पार्किङ्ग निर्माण हुने भएको छ ।
इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेका अनुसार अबको साढे चार महिना भित्रमा स्मार्ट पार्किङ्ग निर्माण सम्पन्न भएर सञ्चालनमा आउने छ । इटहरी वडा नम्बर ४ ट्याङग्रा खोला उत्तरपूर्व अधिकारी मेडिकल हल छेउस्थित दुई कठ्ठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ्ग बन्ने भएको हो । त्यहाँ एक सयवटा हल्का सवारी साधन पार्क गर्न सकिने छ ।
इटहरी उपमहानगरको पहलमा संघीय सरकारले समपुरक योजना अन्तर्गत ५ करोड २० लाख रकम विनियोजित भइसकेको छ । करिब १० करोड लागतमा स्मार्ट पार्किङ्ग निर्माण हुने छ । निर्माण कम्पनीका लागि सूचना गर्ने प्रक्रिया सुरु भइसकेको छ ।
सवारीधनीले त्यहाँ पार्क गराउन ल्याएपछि सफटवेयरलेनै एक क्लिकमा १ मिनेटमै खाली भएको ठाउँमा पठाउने छ । पछि १ मिनेटमा नै पहिला भएको ठाँउमा ल्याइदिने छ ।
यो पार्किङको प्रणाली सबै स्वचालित हुने छ । त्यहाँ गाडी धुने स्मार्ट वास र कफी सपको पनि ब्यवस्था हुने छ । त्यहाँ पार्क गरिसकेपछि सम्बन्धित ठाँउमा पुग्ने सवारी साधनको ब्यवस्था मिलाउने विषयमा पनि छलफल भइरहेको इन्जिनियर घिमिरेले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

