
सन्तोष शर्मा
विश्व नै अहिले कोरोना भाइरस (कोभिड–१९) को कहरमा परेको छ । के धनी ? के गरीब के ? के बालक ? के बृद्ध ? सबै–सबै यसको कोपभाजनमा परेका छन् । यो सूक्ष्म जीवले अहिले भीमकाय डाइनोस्वर भन्दा पनि डरलाग्दो र खतरनाक रुपमा मानव अस्तित्वमाथि धावा बोलिरहेको छ । ठूला र शक्तिशाली भनिइने बम–मिसाइलधारी देश पनि यस भाइरसका अगाडि लाचार छन् । त्राहिमाम भएर जीवन र मृत्यूसँग जुधिरहेका छन् । यसलाई हराउने हर प्रयास गरिरहेका छन् ।
आजसम्म विश्वमा ३१ हजार ७३७ जनालाई कोरोनाले निलिसकेको छ भने ६ लाख ७७ हजार ७०५ जना यसको चंगुलमा फँसिसकेका छन् । तर, १ लाख ४६ हजार ३१९ जनाले कोरोनामाथि विजय हासिल गरेर घर फर्किसकेको सुखद् अवस्था पनि छ ।
संक्रमण, मृत्यु र निको हुने यी तीन कुराको अनुपात हेर्ने हो भने संक्रमण दर उच्च छ भने मृत्यु कम र निको हुने धेरै छन् । तथापि, यो भाइरसको संक्रमण दर उच्च भएकाले विश्वलाई आछुआछु बनाएको हो ।
कोरोना भाइरसको उत्पत्ति कसरी भयो भन्ने कुरा विश्वभरका वैज्ञानिकहरु खोजिरहेका छन् । केहीको भनाइमा चमेरा, सर्प, सालकबाट यो भाइरस मानिसमा सरेको हो भन्ने छ । केहीको भनाइ यो जैविक हतियारको रुपमा आएको छ हो भन्ने पनि छ । तर, वास्तविकता के हो ? समयले त्यो सत्यलाई उजागर गर्ने नै छ ।
कोरोनाको उपचारका लागि विश्वरभरका वैज्ञानिक लागिपरेका छन् । कतिपयले एन्डीडोज बनाएका पनि छन् । तर, त्यसलाई मान्छेमा लगाउन उपयुक्त छ÷छैन भन्ने यकिन गर्न विभिन्न चरणमा परीक्षण आवश्यक छ– जो भइरहेको पनि छ ।
यस लेखको शीर्षक नै कोरोना र मानवीयतासँग जोडिएको छ । कोरोनाविरुद्धको जेहाद अहिले मानवीयताको कसैटीमा उभिएको छ । मानवीयताको कसौटीमा यस मानेमा हो कि केही मानिस अहिले मानवीयता बिर्सेर कालोबजारी, कृतिम अभाव, मूल्यबृद्धिमा लागेका छन् । ठूला र सुविधा सम्पन्न अस्पतालका सञ्चालकहरु उपचारको साटो गेटबाटै बिरामीलाई फर्काइरहेका छन् । मूलतः स्वास्थ्य संस्थाको पहिलो कर्तव्य भनेको बिरामीको उपचार गर्नु हो । त्यसपछि तपशीलका कुरा आउँछ । त्यसमा पनि संकटका बेला हात खुल्ला गर्नुपर्नेमा हात बाँधेर मुठ्ठी सकेको अवस्था छ ।
कोरोनाको संक्रमणबाट जीवन र मृत्युसँग जुधिरहेको अवस्थामा रहेकाहरु तातोपानी खान पाइएन भनेर गुहार मागिरहेका छन् । कपितयले आफू संक्रमित भएकाले हेला र तिरस्कारको पात्र बनेको भन्दै आफ्नो क्रन्दन सुनाइरहेका छन्, संक्रमणबाट जोगिन अपिल गरिरहेका छन् । कोरोनाबाट बच्न विश्वभरका मानिस बन्द कोठाभित्र लुकेको अवस्था छ । यस्तो अवस्थामा हामीले मान्छे हुनुको अर्थ र महत्व बिर्सन हुँदैन ।
हुन त मान्छेको मात्र होइन, हरेक जीवनको उत्पत्ति र विनाश निश्चित छ । एक कोषीय जीवबाट आजको मानव समाजको विकास भएको हो । मावन स्वरुप आउनु अघि धेरै जीव उत्पत्ति भयो र विनास पनि भयो । त्यस्तै, मानिसको उत्पत्तिसँग यसको विनास कुनै कालखण्डमा होला नै ।
जन्मेपछि निश्चित समय भएपछि मर्नु नै पर्छ । तथापि, मृत्यु कसैका लागि स्वीकार्य वा प्रिय कुरा होइन । मानिस बाँच्नका लागि हरसम्भव प्रयास गर्छ ।
जीवन र जगत निष्कर्ष नै के हो भने जो आउँछ त्यो जान्छ नै । खाली हात आएको थियो, खाली हात नै जान्छ । एक्लै आएको थियो एक्लै जान्छ । उसँग सँगै जाने कोही हुने वाला छैन र उसले जेजति आर्जन गरेको थियो पनि लान सक्दैन वा भनौँ जानेवाला छैन ।
यसर्थ, यो संकटको बेलामा मान्छेले वास्तविक मान्छे बनौँ । एकले अर्कालाई सहयोग गरौँ । समस्यामा परेकालाई सहयोग गरौँ । कोरोना भाइरस विरुद्धको यो जेहादमा मानवीयता पनि अग्निपरीक्षामा छ । मानवीयता नबिर्सौं । अहिलेको समय समर्पणको हो, मुठ्ठी कस्ने होइन ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


