
दीपक चापागाईं
विगत केही महिनादेखि कोरोना भाइरसले मुलुक आक्रान्त बनाएको छ । संसारका महाशत्ति राष्ट्रहरु चीन, अमेरिका, युरोप, बेलायत, इटाली, स्पेन, अष्ट्रेलिया जस्ता मुलुकहरु अत्यन्तै प्रभावित बनेका छन् ।
चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसले पृथ्वीमा भएका लगभग सबै मुलुकलाई आक्रान्त बनाइसकेको अवस्था छ भने आजसम्म लगभग एक लाख मानिसलाई मृत्युमा धकेलिसकेको छ । करिब १५ लाख मानिस संक्रमणको चपेटामा पारेका छन् । यो भाइरसले एकाइसौँ शताब्दीको विनाशकारी अस्त्रको रुपमा मानव जातिमाथि धावा बोलिरहेको छ । अहिलेको अवस्था भनेको पहिला आफू सुरक्षित भई बाँच्ने अनि अर्कालाई सकेको सहयोग गर्ने हो । यो नै मानव धर्मको परम कर्तव्य हो ।

विश्वका कतिपय विकसित मुलुकले प्रकृतिमाथि धेरै कुराले विजय हासिल गरिरहेको अवस्था छ । मानिस चन्द्रमामा बस्ती बसाल्न, मंगल ग्रहमा मानव बाँच्ने सक्ने–नसक्ने अध्ययन गर्न सफल भएको वर्तमान अवस्थामा उसले लगभग पृथ्वीमाथि आफूलाई विजय सावित गरिरहेको अवस्था थियो ।
चराजस्तै आकाशमा स्वच्छन्द उड्न र समुन्द्रमा बस्ती बसाल्न, महिनौँको सामुन्द्रिक यात्रा तय गर्न एक वर्षसम्मको आन्तरिक्ष यात्रा तय गरी हिँड्न नाइल, अमेजन जस्ता नदीलाई खेतको गरामा आली लगाएझै पुुल निमार्ण गर्न, समुन्द्र भित्र–भित्र स्थल यातायत सञ्चालन गर्ने, सामुन्द्रिक दूरी छोट्याई यात्रा तय गर्ने विभिन्न प्रविधिको विकास गरी पृथ्वीलाई एउटा इलेक्ट्रोनिक चिप्स भित्र अटाउन उसलाई सामान्य जस्तो भइसकेको थियो । प्राकृतिक विपत्ती, सामुन्द्रिक आधी, भुइचालो, प्लेग, इवोला, स्पेन्सिस फ्लू, क्यान्सर, एड्स इन्यादि जस्ता भयांकर माहमारीलाई निस्तेज पार्दै अहिलेको अवस्थामा आइपुगेको छ, मानव जाति । तर, यति धेरै प्रतिकूल अवस्था विपत्ती र चुनौतीमा कोही मानिस एक्लो भएर लडेको होइन संसारका धेरै मानिसले आ–आफ्नो बुद्घि र विवेक प्रयोग गरेर मेहनत र पसिनालाई एकीकृत गरेर नविनतम बुद्घि र विवेकलाई सही ठाउँमा प्रयोग गरेर सकारात्मक परिणाम निकाल्न सफल भएको कुरा घामजस्तै छर्लंग छ । यस्ता विपत्तीलाई जितेर आएको बलवान र प्रतिभाशाली मानिस आज कोरोना भाइरससँग बाघले बाख्रोलाई खेदे जसरी नै भागिरहनु परेको छ ।
कोरोना भाइरस मानव जातिकै अहिलेसम्मको खतरनाक भाइरस बन्नुको कारण मानिसलाई प्रकृतीले चुनौती दिएको मान्न सकिन्छ । हरेक कालखण्डमा प्रकृतीले दिएको चुनौती एकपछि अर्काे गर्दै सामना गरिरहेको मानव समाजले यो चुनौतीलाई पनि संसारभरका सबै एकजुट भएर सामना गर्नु अपरिहार्य छ । यहाँ कसैले चीनले बनाएको भाइरस हो, कसैले अमेरिकाले बनाएको भाइरस भनेर एकले अर्कालाई खुइल्याउनु भन्दा सबै मिलेर डटेर सामना गर्नु आजको आवश्यकता हो । यहाँ सानादेखि ठूलासम्म सबै प्रकारका, सबै देशका मानव जाति एक भएर यसलाई निस्तेज बनाउनुको विकल्प छैन ।
यस्तो विषम परिस्थितिमा कोरोना भाइरसको नेपालजस्तो विकासोन्मुख देशले सामना गर्न धेरै चुनौती छ । सीमित स्रोत र साधनलाई परिचालन गरेर देशलाई संक्रमणबाट मुक्त पार्न धेरै चुनौती राज्यसँग छ । पर्याप्त स्रोत र साधनलाई परिचालन गर्ने आर्थिक रुपमा सम्पन्न मुलुकहरु समेत घुँडा टेकेको यो अवस्थामा नेपालले खेलेको भूमिकालाई कमजोर ठान्नु भुल हुनेछ । कामको सिलसिलामा केही लोभी–पापीहरुले र्याल काडे होलान्, धमिलो पानीमा माछा मार्न पल्केकाहरुले पनि गलत गरेका होलान् । तर, यो देशको ढिकुटीलाई जुको जसरी चुुसिरहनेहरुले राज्यलाई बदनाम बनाए पनि सरकार दह्रो भएर उभिनु पर्छ । जनताले राज्यको दह्रो उपस्थिति खोजेका छन् । जजसले जुन प्रकारका गल्ति र कमजोरी गरेका छन्, दोषी नउम्कने गरी र निर्दोष नपर्ने गरी राज्यले कानूनी दायरामा ल्याउन हिच्किचाउनु हुँदैन ।
मुलुकमा आएको यो विपत्ती घडीमा सम्पूर्ण नागरिकले राज्यलाई सघाइरहेका छन् र सघाउनु पनि पर्छ । जनताको जिउधनको सुरक्षामा राज्यले कुनै कसुर बाँकी राख्नु हुँदैन, नागरिक बलियो भयो भने मात्र राज्य बलियो हुन्छ । वर्तमान समयमा राज्यलाई जनताले भरपुर साथ दिएको देखिन्छ । राज्यका तर्र्फबाट केही छिटफुट कमजोरी भन्दा नागरिकतर्फ गरिएका निर्णय राम्रो र प्रभावकारी छ । यसलाई सुधारेर अझ राम्रो बनाएर लान प्रभावकारी भूमिका र सम्पूर्ण देशका नागरिकलाई जिम्मेवार बनाउन राज्यले ढिला गर्नु हुँदैन ।
अहिलेको अवस्थामा सम्पूर्ण देशका जिम्मेवार पद र ओहोदामा बस्ने व्यक्ति, कर्मचारी, राजनीतिक दल, तिनीहरुका कार्यकर्ता विभिन्न तह र तहकामा रहेर आफ्नो जिम्मेवारीवहन गर्ने नागरिक सबैले मिलेर राज्यलाई सहयोग गर्ने परिस्थिति आएको छ । यस विषम परिस्थितिमा उद्योगी व्यपारीहरुले मूल्यबृद्घि, कालो बजारीमा नलागेर मुलुकको सेवा गर्ने बेला आएको छ । सबैले आफू जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नु पर्दछ ।
कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरु थप जिम्मेवार बनेर देशको सेवामा समर्पित हुने, आफ्नो कार्यक्षमता प्रस्तुत गरेर मुलुकलाई योगदान दिन जरुरी छ । हामी नागरिक, समाज, राजनीतिक दल, सबै देश–विदेशमा रहने नेपाली दाजुभाइ–दिदीबहिनीहरुले आफूले सकेको आर्थिक, नैतिक, भौतिक सहयोग गर्नुपर्छ । देशलाई संकटको घडीमा सबै मिलेर सहयोग गर्नुपर्छ । अरुलाई आरोप लगाएर आफू पानी माथिको ओभानु हुनु भन्दा पोखरीभित्रको फोहोर पोखरीभित्र नै पसेर सफा गर्न हिम्मत गर्न जरुरी छ । त्यसैले संकटको यो विषम परिस्थितिमा हामी सबै एकजुट हुुनु आजको अपरिहार्य आवश्यकता हो । सबैमा चेतना होस् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


