
सन्तोष शर्मा
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण सबै तह र तप्का आक्रान्त रहेका बेला सञ्चारक्षेत्र पनि त्यसबाट अछुतो रहन सकेको छैन । संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रुपमा लकडान घोषणा गरेको छ ।
जसका कारण देशभरका अधिकांश छापामाध्यमले प्रकाशन बन्द गरेका छन् । विद्युतीय सञ्चारमध्यमहरुले कष्टप्रद रुपमा भए पनि सूचना प्रवाह गरिरहेका छन् । जस्तोसुकै कठिन अवस्थामा पनि नागरिकलाई सूचना दिनु सञ्चारमाध्यमको कर्तव्य हो । सूचना संकलन गरेर जनमानसमा पु¥याउने सूत्रधार पत्रकार÷ सञ्चारकर्मी हुन् । उनीहरु आफ्नो कर्तव्यबाट अलगथलग रहन सक्दैनन् ।
अहिले परिस्थिति अत्यन्तै प्रतिकूल छ । प्रतिकूलताका बाबजुद सकेसम्म सत्यतथ्य सूचना संकलनमा सञ्चारकर्मी खटिरहेका छन् । मुख्यतः रोगबारे सचेतना, हुनेले नहुनेलाई दिन उत्प्रेरणा प्रदान गर्नेदेखि संकटका बेला पनि लाभ लिन खोज्नेहरुलाई खबरदारी गर्ने काम सञ्चारकर्मीले गरिरहेका छन् । अन्य जिल्लामा के भइरहेको छ मलार्ई थाहा छैन । तर, झापाली भूमिमा यहाँका पत्रकार÷ सञ्चारकर्मीले यो महासंकटको घडीमा उल्लेख्य काम गरिरहेका छन् ।
झापामा अहिले विभिन्न संघसंस्थाले राहत वितरणमा उल्लेख्य सहयोग गरिरहेका छन् । स्थानीय सरकारको राहत कोषमा पनि सामाजिक संघसंस्था एवम् व्यक्तिले सहयोग गरिरहेका छन् । ती समाचारहरु सञ्चारकर्मीले संकलन गरेर प्रकाशमा ल्याइरहेका छन् । जसका कारण दिनेलाई उत्साह थपिएको छ भने भोकाले खान पाएका छन् ।
तर, यो कठिन अवस्थामा ती सञ्चारकर्मीको पेट भोको छ वा भरिएको छ भन्ने विषय गौण बनेको छ । मैले भन्नुको तात्पर्य यो होइन कि सञ्चारकर्मीले राहत पाएनन् । राहत पाएका छन्– माक्स र सेनेटाइजर । मैले थाहा पाएसम्म एक संस्थागत रुपमा एक व्यक्तिगत रुपमा माक्स र सेनेटाइजर राहतका रुपमा मिलेको छ । मैले पनि दुई वटा माक्स र एउटा सेनेटाइजर लिएको छु ।
घटना भर्खकै हो । बिर्तामोडका एक जना व्यापारीले राहत बाँड्ने भए । उनले तारन्तार फोन गरेर मेरो एक मित्रलाई बोलाए । उनी त्यहाँ गएपछि राहत वितरण भयो । विपन्नले चामलको बोरा बाकेर आए, मित्र चाहिँ समाचार लिएर । व्यापारी मख्ख भए । ती मित्रले तलब नपाएको धेरै भएको छ । बेला–बेलामा अलिअलि नआउने गरेको भने होइन । तर, त्यो पर्याप्त छैन ।
यो अवस्था ती मित्रको मात्र होइन, धेरै सञ्चारकर्मीको अवस्था त्यही छ । कि पारिवारि पृष्ठभूमि हुने खाने भएकाले उनीहरु चलिरहेका छन् । कि त उठ्तीपुठ्तीमा लागेका छन् । त्यो गर्न नसक्ने श्रमजीवीहरु मर्यादा, प्रतिष्ठा र पेशाप्रतिको इमान्दारितका कारण मरिच चाउरिएजस्तै चाउरिएका छन् ।
नेपाल पत्रकार महासंघ प्रदेश न. १ ले एक विज्ञप्ति निकालेर सरकारसँग सञ्चारमाध्यम र श्रमजीवी पत्रकारका लागि राहत दिन माग गरेको छ । महासंघको केन्द्रले पनि हिजो (सोमबार) मात्रै राहत प्याकेज घोषणा गर्न माग गरेको छ । तर, अहिलेसम्म कहीँ कतैबाट कुनै सहुलियतका कुरा आएका छैनन् ।
यो महासंकटका बेलामा सञ्चारकर्मीको पेट भरिएको छ कि खाली छ भनेर कसैले छामेका छैनन् । न उनीहरु हात फैलाएर माग्न सक्ने अवस्थामा छन् न त बुझेर कसैले दिन चाहेको छ । अहिलेको श्रमजीवीको अवस्था नारायण गोपालको यो गीत जस्तो छ–
आँखा छोपी नरोऊ भनि भन्नुपर्या छ
मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ… ।
तर पनि भारतका सुप्रसिद्ध वैज्ञानिक अब्दुल कलामको एउटा भनाइ छ– ‘माना अन्धेरा घना है, दिया जलाना कहाँ मना है ।’ यो अँध्यारो पस्थितिलाई चिरेर एक दिन अवश्य उज्यालो आउनेछ । कर्मप्रति प्रतिबद्ध भएर लागौँ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


