
नयाँदिल्ली, १७ वैशाख । भारतमा कोरोनाभाइरसबाट ३१ हजार ३३२ जना संक्रमित भइसकेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।
पछिल्लो पटक कोरोना संक्रमित ७३ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोरोना संक्रमितमध्ये एक हजार ७ जनाको मृत्यु भएको छ । भारतमा देखिएका कोरोना पीडितमध्ये ७ हजार ६९५ जना निको भएर घर फर्किएका छन् भने हाल २२ हजार ६२९ जना उपचारका क्रममा छन् ।
मन्त्रालयका अनुसार भारतको महाराष्ट्र राज्यमा कोविड–१९ बाट सर्वाधिक ९ हजार ३१८ जना संक्रमित भएका छन् जसमध्ये १ हजार ३८८ जना निको भएका छन् । महाराष्ट्रमा मात्र ४०० जनाको मृत्यु भएको छ ।
दोस्रो बढी संक्रमित भेटिएको गुजरातमा तीन हजार ७४४ जनामा संक्रमण देखिएको छ । यहाँ १८१ जनाको मृत्यु भएको छ । दिल्लीमा भने तीन हजार ३१४ जना संक्रमित भएकामा ५४ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा दुई हजार ३८७ जना, गोवामा ७ जना, अरुणाचलमा १ जना, मणिपुरमा २ जना, त्रिपुरामा २ जनामा कोरोना संक्रमण देखिएको छ । (रासस–एएनआई)
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

