
विराटनगर, २६ वैशाख । कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट निको भएर ७ जना नेपाली र एक जना भारतीय नागरिक शुक्रबार विहान डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज भएकामध्ये एक महिलासहित पाँचजना उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केका हुन् । २ जना भने विराटनगर महानगरपालिका– १७ का बासिन्दा हुन । एक जना भारत दिल्लीबाट आएका जमाती हुन् । उनीहरुको लगातार दुई पटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डा। संगीता मिश्राले बताइन् ।
डिस्चार्ज भएका सबैलाई ८ वैशाखमा कोरोना संक्रमण देखिएको थियो । निको भएकाहरुको विदाइ गर्न शुक्रबार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोना उपचार केन्द्रमा पुगेका थिए । संक्रमण मुक्त भएकाहरुबाट थप जोखिम हुने भएकाले १४ दिन क्वारेन्टाइनमा राखिने उनले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


