
झापा, १ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या २५० पुुगेको छ । सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार ७ जना कोरोना संक्रमित थपिएसँगै मुलुकमा कोरोना संक्रमितको संख्या २५० पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान पौने ८ बजे सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार सर्लाहीको धान्कौल नगरपालिकाका २५ वर्षीय पुरुष, धनुषाको जनकपुर उपमहानगरपालिका र मिथिला नगरपालिका निवासी क्रमशः ४०
वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ । यस्तै महोत्तरीको जलेश्वर नगरपालिका र बलवा नगरपालिका निवासी १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ।
आजै बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिका निवासी ३२ वर्षीय पुरुष र कपिलबस्तुकी ६ वर्षीया बालिकामा पनि कोरोना पुष्टि भएको थियो । उनीहरु सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिए ।
प्रदेश २ मा १०३ जना, प्रदेश ५ मा ९४, प्रदेश १ मा ३५, बागमतीमा ११, गण्डकीमा २ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् । कर्णाली प्रदेश भने हालसम्म कोरोना मुक्त छ । यस्तै ३५ जना कोरोना निको भएर घर फर्किसकेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


