
झापा, १ जेठ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्याएको छ । यसअघि २५० जना कोरोना संक्रमितको आँकडा सार्वजनिक गरेको मन्त्रालयले अर्को सूचना निकालेर संक्रमितको संख्या २४५ नै रहेको जनाएको हो ।
मन्त्रालयले यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिबस दोहोरिएको भन्दै आँकडा सच्याएको हो । मन्त्रालयले धनुषा, महोत्तरी र सर्लाहीका संक्रमित भएका व्यक्तिको बारेमा दुई पटक जानकारी गराएको हो ।
मन्त्रालयले आज बिहान गरेको नयाँ अपडेटअनुसार कुल २५० जना संक्रमित भएको जनाएकोमा यी २५० जनामा दुई दिन अगाडि नै संक्रमित भनिसकिएका धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिका १० लालगढका २० वर्षीया युवती तथा महोत्तरीको जलेश्वर नगरपालिकाका ३५ वर्षीय पुरुष तथा महोत्तरीकै बलवा नगरपालिकाका १६ वर्षीय बालक र सर्लाहीको हरिपूर्वा नगरपालिका ३ धनकौलका ४५ वर्षीय पुरुष भनिएको छ । यी पाँचै जनालाई प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा बुधबारै ल्याइसकिएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पनि मन्त्रालयले सार्वजनिक गरेको नयाँ अपडेटमा थपिएका यी पाँच जना पुरानै तथ्य भएको बताएका छन् । ‘हामी यी व्यक्तिलाई आइसोलेसनमा ल्याइसकेका छौं,’ उनले भने, ‘पुरानै तथ्य हालेर अपडेट गरिएको छ ।’

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


