
बनियानी, २८ जेठ । झापा कचनकवल गाउँपालिका स्वाथ्यकर्मी छ बुँदे मागसहित आन्दोलनमा उत्रिएका छन् ।
कोरोनाको कहरका बेला उनीहरु विभिन्न छ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले विभिन्न चरणमा आन्दोलनको स्वरुप तयार गरेका छन् । मंगलबार बनियानी स्वास्थ्य केन्द्रमा भएको भेलाले संघर्ष समिति बनाएर आफ्ना माग अघि सारेको हो ।
संघर्ष समितिले कर्मचारीले खाईपाई आएको तलबमा चैतमहिनादेखि शतप्रतिशत भत्ताको व्यवस्था हुनु पर्ने माग अगाडि सारेका छन् । मागपत्रमा पीसीआर नमूना संकलन र ल्याबका कर्मचारी, कन्ट्रायक ट्रेसिङमा जाने सिआइसिटी र आरआरटिएममा खटिएका कर्मचारीलाई खाजा, खाना र यातायात खर्च वापत दैनिक एक हजार भक्ता हुनु पर्ने उल्लेख छ ।
मागपत्रमा एम्बूलेन्स चालकको बीमा हुनु पर्ने, कोभिड कार्यमा संलग्न स्वास्थ्यकर्मी र कर्मचारीको मृत्यु भएमा मृतकका छोरोछोरीलाई उच्चशिक्षा अध्ययनको प्रवन्ध हुनु पर्ने र कोरोना संक्रमितलाई आइसोलेसनसम्म लिएर जाने चलकको बीमा र दैनिक एक हजार भक्ता हुनु पर्ने माग गरेका छन् ।
संघर्ष समितिले मंगलबार गाउँपालिका, प्रदेश सरकार, प्रहरी कार्यालय, वडा कार्यालय लगायतका विभिन्न संघ–संस्थालाई मागपत्रका सम्बन्धमा जानकारी गराएका छन् । जेठ २८ गते बुधबार सबै स्वासथ्यकर्मी र कर्मचारीले हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।
जेठ २९ गते बिहान १० देखि ११ बजेसम्म आकस्मिक बाहेकका सबै सेवा बन्द गरी गाउँपालिकामा धर्ना दिने र जेठ ३० गते पनि २ घण्टा सेवा बन्द गरी गाउँपालिकामा धर्ना दिने कार्यक्रम रहेको छ । यसैगरी जेठ ३२ गतेदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरी गाउँपालिकामा धर्ना दिने कार्यक्रम घोषणा गरेका छन् ।
संघर्ष समितिले पटक–पटक गाउँपालिकालाई लिखित रूपमा मागपत्र दिएको र सुनवाई नभएपछि संघर्षमा उत्रन बाध्य भएको संघर्ष समितिका संयोजक जागेश्वर यादवले बताए ।
गाउँपालिका अध्यक्ष अन्जार आलमले स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई खाइपाई आएको तलब भत्ताको २५ प्रतिशित उपलब्ध गराएको बताए । उनले बजेट बनाउने बेलामा चैत देखिको सतप्रशित भत्ता खुवाउन सम्भव नहुने बताए । कचनकबल गाउँपालिकामा १५ बेडको बनियानी स्वास्थ्य केन्द्र छ । स्वास्थ्य केन्द्रमा एक जना एमबिबिएस चिकित्सक छन् । सात वडामा ७ वटा स्वास्थ्य चौकी रहेका छन् ।
कोरोनाले जनजीवन आक्रान्त बनेका बेला सेबा नै बन्द गरेर भत्ता, तलब लगायतका लागि स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । कोरोनाविरुद्धको अभियानमा सबै तहतप्का एकताबद्ध भएर लागेको बेलामा कनचकवलका स्वास्थ्यकर्मीले सेवा बन्द गरेर गाउँपालिकामा धर्ना दिने चेतावनी दिनु कति सान्दर्भिक होला ? त्यो त समयले बताउने छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



