
झापा, १ असार । प्रदेश सरकारले झापाको भद्रपुरस्थित मेची अस्पतालको सेवालाई अझै गुणस्तरीय बनाउन उपकरण, जनशक्ति र पूर्वाधार विकासमा सहयोग गर्ने भएको छ । संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री इन्द्र आङ्वोले मेची अस्पतालको उपचार सेवालाई थप गुणस्तरीय बनाइने बताएका छन् ।
अर्थमन्त्री आङवोले प्रादेशिक मेची अस्पतालको सेवाको गुणस्तर सुधार गर्दै सिटी स्क्यान, हेमोडाइलोसिस सेवा र भेन्टिलेटरसहित सघन उपचार कक्षका लागि प्रदेश सरकारले २३ करोड रुपैयाँ उपलब्ध गराउने बताए । स्थापना भएको लामो समय भए पनि पर्याप्त सरकारी चासो नपुगेको मेची अस्पतालका लागि सरकारले यति ठूलो रकम दिने घोषणा गरेको पहिलो हो ।
प्रदेश सभा सदस्य गोपाल बुढाथोकीले मेची अस्पतालको स्तरबृद्धिका लागि प्रदेश सरकारले २३ करोड बजेट बिनियोजन गरेको भन्दै खुशी व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै झापाली सांसदको माग सम्बोधन भएकोमा प्रदेश सरकारलाई धन्यवाद पनि दिएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



