
झापा, १२ असार । नेपालमा पहिलोपटक झाडापखालाविरुद्धको ‘रोटा खोप’ सुरु गरिने भएको छ । बच्चा जन्मेको ६ सातामा पहिलो मात्रा र १० सातामा दोस्रो मात्रा दिइने गरी यही असारदेखि नै सो खोप दिन लागिएको हो ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमका अनुसार नियमित खोप अभियानअन्तर्गत रोटा खोप दिइनेछ । खोप शाखा प्रमुख डा गौतमले भने, ‘यो खोप बच्चाहरूलाई मुखबाट दिइन्छ । खोपहरू केन्द्रीय स्टोरबाट प्रदेशमा पठाइसकिएको छ । प्रदेशले जिल्लामा पठाउँछ । केही दिनमै खोप दिइने तयारी छ ।’
चिकित्सकका अनुसार पाँच वर्षमुनिका बालबालिकामा देखिने झाडापखालाको प्रमुख कारणमध्ये रोटा भाइरस एक हो । देशभरका पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई खोपको पहुँचमा ल्याउन र नयाँ रोगविरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले सरकारले रोटा भाइरसविरुद्धको खोपलाई नियमित अभियानअन्तर्गत अघि सारेको थियो ।
नियमित रूपमा ११ वटा रोगविरुद्ध निःशुल्क खोप दिइँदै आएकामा अब रोटा भाइरसबाट हुने पखालाविरुद्धको खोप थप गरिएको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा गौतमले जानकारी दिए । आजको राजधानी दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



