
शेखर पाण्डे
कुनै पनि विद्यालयकाे सुमधुर सञ्चालनका निम्ति त्रिपक्षीय समझदारी महत्त्वपूर्ण मात्र हाेइन, अपरिहार्य मानिन्छ। त्रिपक्षीय समझदारीका निम्ति निम्न तीन पक्षकाे सुझबुझपूर्ण जवाफदेहिता आवश्यक हुन्छ:
(१.) विद्यार्थी
(२.) अभिभावक
(३.) विद्यालय-प्रशासन तथा कार्यरत शिक्षक-शिक्षिका एवम् कर्मचारी
यी तीन पक्षले आपसी समझदारी र सद्भाव कायम नगरेसम्म यी तीनै पक्षलाई कुनै न कुनै मानेमा चुक्नबाट केहीले वा कसैले जाेगाउन सक्दैन। एकअर्काका परिपूरक हुन् – यी तीनै पक्ष वास्तवमा।
COVID-19 का कारण सबै विद्यालय विगत तीन महिनादेखि बन्द रहेकाे अवस्था छ अहिले। याे अनपेक्षित समयका कारण हरेकले उकुसमुकुस महसुस गरिरहेकाे छ। आशा गराैं, याे महामारीको छिट्टै अन्त्य हुनेछ र हामी सबै आ-आफ्नाे जीवन-दैनिकीमा सरलताका साथ अवतरण गर्नेछौं।
आशावादी हुनु र प्रार्थना गर्नु सिवाय हामीसंग अरु कुनै विकल्प छैन अहिलेलाई।
आशा नमाराैं, अनुकूल आगतका निम्ति प्रार्थना गराैं।
यतिबेला विद्यार्थी, अभिभावक र विद्यालयका बीचको आपसी सम्बन्ध याे महामारी जत्तिकै भारी बनेर उभिएको छ – हामी सबैका सामू। सामाजिक सञ्जाललाई माध्यम बनाई अत्यन्तै जहरिलाे तिक्तता आदानप्रदान भइरहेको देखिन्छ। “याे महामारीकाे कहिल्यै अन्त्य हुनेछैन” वा “एक पक्षलाई अर्को पक्ष अब आजीवन चाहिंदैन” भनेजसरी हामी तिक्तता ओकलिरहेका छाैं। तिक्तता पाेख्ने क्रममा हामी उत्तेजित भइरहेका छाैं। कतिपय अवस्थामा त हामीले आफूलाई आफ्नाे स्तरबाट ओरालिरहेका छाैं। याे सब हुँदा त्यसको असरबाट एक पक्ष मात्र नभई तीनवटै पक्ष प्रभावित हुन पुग्छन् भन्ने हामीले बिर्सनु हुँदैन। संयम अपनाउँदै यदि धैर्य हुन सकिएन भने त्यसको परिणाम साेचेभन्दा वा आकलन गरेभन्दा कैयौं गुणा विषम हुने निश्चित छ।
आफ्नाे उत्तेजनालाई आफ्नै काबुमा राखाैं।
आफूलाई आफ्नाे स्तरबाट तल नओरालाैं।
आफूलाई संयमित बनाऔं ।
आफू धैर्यवान हुन सिकौं ।
हामीलाई निकास चाहिएको हाे। निकासका लागि संस्कार र पद्धतिकाे विकास हुन जरुरी हुन्छ।
संस्कारले गाली र हठ हाेइन, सत्कार र समझदारी सिकाउँछ। त्यसैगरी, पद्धतिले हामीलाई बाटाे देखाउँछ र गन्तव्यसम्म नपुगुञ्जेल धैर्य धारण गर्न प्रेरित गर्छ। संस्कार र पद्धति त्यसकारण अावश्यक छ हामीलाई यतिबेला।
विद्यार्थी र अभिभावकलाई दुई पक्षका रुपमा नभई एक पक्ष भनी मानाैं। याे पक्षअन्तर्गतको जिम्मेवारी अभिभावकले आफ्नाे काँधमा बाेक्नुपर्छ। अर्को पक्ष भनेकाे विद्यालय हाे। विद्यालयले आफू मातहतका सबै शिक्षक-शिक्षिका तथा कर्मचारीलाई समेट्न सक्नुपर्छ। त्यसाे हुन नसकेकाे खण्डमा, शिक्षक/कर्मचारीकाे अावाज सुनाइदिने संस्थालाई अघि सार्न सकिन्छ।
अभिभावक (र विद्यार्थी), विद्यालय एवम् शिक्षक/कर्मचारीकाे अापसी समझदारी र सद्भाव न हाे – यतिबेला खट्केकाे अावश्यकता भनेकाे। त्यसाे भए, एउटा टेबलकाे वरिपरि बसेर अापसी समझदारी र सद्भावलाई लक्ष्य बनाई छलफलमा सहभागी भए त भइहाल्याे नि। निष्कर्ष कसाे ननिक्लेला त!
यी बाह्र-पच्चीसे कुरा किन ?
साँच्चै नै साेच्ने बेला आइसक्याे अब।
अब कुनै बार वा साइत कुरेर नबसाैं।
बार र साइत कुर्दाकुर्दै शिक्षा स्वयम् लज्जित बनेर शिर निहुराउन बाध्य बन्ला है।
हेक्का राखाैं यस कुराकाे ।
संप्रति : ‘गाेमेन्द्र बहुमुखी महाविद्यालय’ र ‘गाेमेन्द्र बिर्ता माेडल माध्यमिक विद्यालय’ बिर्तामोड (झापा)
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



