
बिर्तामोड, ९ साउन । झापामा आज १८ जना सशस्त्र प्रहरीसहित थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
मोरङको विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा सशस्त्र प्रहरी सीमा सुरक्षा बल काँकरभिट्टाका एक महिलासहित १८ जना, बिर्तामोडका एक जना, बाह्रदशीका तीन जना र झापा गाउँपालिकाका तीन जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिनुभयो । साउन ७ गते ४८ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला पठाइएको उहाँले बताउनुभयो ।
“सबै संक्रमितलाई मोरङ गोठगाउँस्थित कोभिड उपचार केन्द्र र विराटनगरस्थित कोभिड अस्पतालमा उपचारका लागि पठाइएको छ”, उहाँले भन्नुभयो, “संक्रमित सबैको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।”
झापा अझै चार सय जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको फोकल पर्सन चम्लागाईंले बताउनुभयो । आज पुष्टि भएको २५ जनासहित झापामा कोरोना संक्रमितको संख्या ३४५ पुगेको छ । झापा अन्य जिल्लाका पाँच जनामा समेत कोरोना पुष्टि भएको छ । अन्य जिल्लाका बुद्धशान्तिको क्वारेन्टिनमा रहेका चार जना र हल्दिबारीको क्वारेन्टिनमा रहेको एक जनामा कोरोना देखिएको थियो ।
झापामा ४० महिला र २५८ जना पुरुष गरी २९८ कोरोना मुक्त भएका छन् भने ४७ जना उपचाररत रहेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



