
राजबाबु शंकर
चाणक्य नीतिमा भनिएको छ–
दातृत्वं प्रियवक्तृत्वं धीरत्वमुचितज्ञता ।
अभ्यासेन न लभ्यन्ते चत्वारः सहजा गुणाः
दानी हुनु अर्थात् दान दिनु कुनै व्यक्तिको स्वभाव नै हुन्छ । कुनै पनि व्यक्तिलाई दान दिनुपर्छ भनेर सिकाउन पदैर्न । यस्तो सोच मानिसमा स्वतः हुन्छ ।
त्यसैगरी, कुनै पनि व्यक्तिलाई निर्णय लिन पनि सिकाउन सकिंदैन । जसले उचित समयमा समुचित निर्णय लिनसक्छ, ऊ सफल हुन्छ । गलत समयमा सही निर्णय लिएर मानिस सफल हुन सक्दैन ।
धैर्य राख्न सक्नु पनि मानिसको असलमध्येको एउटा गुण हो । कठिन समयमा आफूलाई धैर्यवान बनाइराख्न सक्नु मानिसको उत्कृष्ट गुण हो । धैर्यवान मानिसले खराब समय सकिएपछि राम्रो काम गर्न सक्छ । यो मानिसको जन्मजात गुण हो ।
र, मीठो बोल्नु पनि मानिसको राम्रा गुणहरूमध्ये एक हो । यस्तो गुण मानिसको स्वभावमै हुन्छ । कसैलाई मीठो बोल्न पनि प्रायः सिकाउन पदैर्न ।
यी कुरा जीवनका हरेक पलमा, हरेक कर्मक्षेत्रमा आवश्यक हुन् पनि । दान नगद वा वस्तुको मात्रै पनि हुँदैन, मनको समेत हुन्छ । अर्थात् भलो मनले जोकोहीको कल्याण वा उद्धार गर्नु पनि दान नै हो । जस्तो कि, जनताले आफ्नो मत दान गरे, लोकसम्मत विधि निर्माण र सुशासनको चिर अपेक्षा सँगालेर शासन सञ्चालनमा प्रतिनिधित्व गराए । तर, जनताले त्यो निस्पृह दान वापत प्रतिदान कस्तो पाइरहेका छन् ? के सरकारले बरोबर जनपक्षीय निर्णय लिइरहेको छ ? आम जनताको सर्वतोमुखी हितका खातिर काम गरिरहेको छ ? जनताले न्याय पाइरहेका छन् ? — यी तमाम प्रश्नहरूले आक्रोश र विरक्तिको छलाङ लगाइरहेका छन् !
यहाँ एउटा प्रसंग उल्लेख गर्न सान्दर्भिक होला—
एक दिन गौतम बुद्धलाई कसैले आएर सोध्यो–
‘के तपार्इं भगवान् हुनुहुन्छ ?
बुद्धले भने– ‘अहँ, होइन ।’
‘के तपार्इं देवदूत हुनुहुन्छ ?’
बुद्धले फेरि भने– अहँ, होइन ।’
उसले फेरि सोध्यो– ‘के तपाईं ईश्वरपुत्र हुनुहुन्छ ?’
बुद्धले फेरि भने– ‘त्यो पनि होइन ।’
उसले प्रश्न गदैर् गयो– ‘के तपाईं अवतार हुनुहुन्छ ?’
बुद्धले टाउको हल्लाउँदै दोहो¥याए– ‘बिल्कुल होइन ।’
अन्त्यमा उसले सोध्यो– ‘आखिर तपाईं को हुनुहुन्छ त ?’
बुद्धले मुस्कुराउँदै भने– ‘म जागृत मानव हुँ ।’
वास्तवमा संसारभरका मानिसहरू बुद्ध नै हुन् । फरक यतिमात्र छ, कोही सुतिरहेको बुद्ध; कोही जागा बुद्ध अर्थात् ब्युँझिसकेको मान्छे । दुनियाँका महान् मानवहरू एक हदसम्म ब्युँझिएका अर्थात् जागृत मानव हुन् । अब फेरि पनि अकोर् प्रश्न थपिन्छ– ‘हामी निदाइरहेको मान्छे कि सुतिरहेको मान्छे…?’
निश्चय पनि जनताजनार्दन निदाइरहेका छैनन्, न त निदाएको स्वाङ गरिरहेछन् । यी जागा छन्, र त हरहमेशा सरकारलाई झक्झकाइरहेछन्, खबरदारी गरिरहेछन्, नागरिकहरूप्रतिको दायित्व जिम्मेवार भएर निर्वहन गर्न अनेकानेक माध्यमहरूबाट दबाब दिइरहेछन् । तर, अफशोच… सरकार भने सुतिरहेको झैं छ अर्थात् जागा नरहेको भाव सरेआम प्रदर्शन गरिरहेछ ! बुद्धले भने झैं ‘जागृत मानव’ किन नभए झैं छ सरकारमा ? एकाध राष्ट्रिय सरोकारका मामिलामा बाहेक ऊ जागा भएको प्रतीति हुन सकेको छैन ।
हुँदाहँुदा अब त न्यायालयलाई पनि कलंकित तुल्याउने जघन्य कर्तुत गरिएको छ । ‘न्याय’लाई किनबेचको ‘वस्तु’ बनाउने जोरजबर्जस्ती अपराध ‘न्यायमूर्ति’ कहलाइनेहरूबाटै हुन पुगेको छ । न्यायको बागडोर सम्हालेका प्रधान न्यायाधीश लगायत नै नैतिकता र विवेक ताकमा राखेर न्यायको चिरहरण गर्न र न्यायालयको शुभ्र शाखमा कालो पोत्न निर्लज्ज सरिक भएका छन् ! यो पनि त सरकार सञ्चालककै नीति र नियतको ‘बाइप्रडक्ट’ होइन भन्न सकिन्न । इमान र जमान सम्हालेर यदि सरकार जनताप्रति जवाफदेही बन्थ्यो भने ती न्यायदाता मानिएकाहरूले कसैप्रति अन्यायी बन्ने फर्मान जारी गनेर् दुस्साहस निश्चय नै गर्न सक्दैनथे । जड्याहा मूली भएको घर कसरी पो सप्रिन सक्छ र ? देश पनि सारा जनताको घर नै त हो ।
कहिलेकाहीं चिया पिउँदा हामी चिनी कम भएको महसूस गछौर्ं । यदाकदा अन्तिम चुस्कीतिर चाल पाएर के भन्छौं भने, हत्तेरिका… चिनी त कपको पिँधमा पो थेग्रिएको रहेछ । यस प्रसंगलाई यसरी नियालौं ः हाम्रो जीवनलाई पनि मीठो बनाउने सबै चिजबिज हामीसँगै छन्; मात्र हामीले आफ्नो कपमा चम्चा चलाउन भुलेका हौं । र, त्यो कपलाई मस्तिष्कको प्रतीक मानौं र चिनीलाई मनको ।
त्यसो त जीवनमा सफलताको लागि इच्छाशक्ति, ज्ञानशक्ति र कर्मशक्तिको सदुपयोग हुनुपर्छ भने अति नितान्त निजी स्वार्थप्रेरित महत्वाकांक्षा गुरुत्वबल जस्तै हो– जसले माथि चढ्न बाधा पु¥याउँछ, तर तल खस्न सहयोग ।
त्यसैले हामी को हौं, यो हामीलाई थाहा होला; तर हामी के बन्न सक्छौं भन्ने यो थाहा नराख्दा, सचेतता नबर्तिदा वर्तमान तथा आउँदो पीँढीमा आफ्नो सम्झना कुन स्वरूपमा होला – गम्न जरुरी हुन्छ । राजनीति वा न्याय कुनै खेल नभएर यो अधिकाधिक अंशमा कमाइ गनेर् व्यापारमा अनुवाद भएको वर्तमान प्रतिगमनतर्फको यात्रा नहुन पनि सक्दैन । सरोकारीहरूमा जाग्रत मानव हुने चेतना भया । सरकार र न्यायालयबाट सर्वतोमुखी कल्याणदायी प्रतिदान पाउन आकांक्षी जनसमाजको कामना योभन्दा पृथक हुँदै होइन । मेचीखबर साप्ताहिकबाट


