
सन्तोष शर्मा
बनियानी, ९ चैत । झापामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १७ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदैछन् ।
आगामी चैत १९ गतेदेखि २९ गतेसम्म हुने परीक्षामा नियमित र ग्रेड वृद्धि गरी १७ हजार छ सय ६३ जना विद्यार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई झापाका सूचना अधिकारी किरण अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा नियमिततर्फ १५ हजार चार सय एक जना र ग्रेड वृद्धितर्फ दुई हजार दुई सय ६२ जनाले एसईई परीक्षा दिनेछन् । जिल्लाभरिका ५७ वटा परीक्षा केन्द्रबाट सञ्चालन हुने परीक्षामा आठ हजार नौ सय ३२ जना छात्र र आठ हजार सात सय १३ जना छात्राले परीक्षा दिने उहाँले बताउनुभयो ।
जिल्लामा २०७९ सालमा एसईई परीक्षा दिएका विद्यार्थीहरूले समेत यस वर्ष ग्रेड वृद्धिका लागि परीक्षा दिन लागेको कार्यालयले जनाएको छ । उनीहरुका लागि झापाको चन्द्रगढीस्थित वीरेन्द्र माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ ।


