
भद्रपुर, ३० साउन । अघिल्लो साता भद्रपुरका व्यवसायी सञ्जीव घोष फर्जी भ्याट बिल प्रयोग गरी कारोबार गरिरहेको आरोपमा पक्राउ परे ।
इटहरीस्थित राजश्व अनुसन्धान, क्षेत्रीय कार्यालयले साउन १३ गते लत्ताकपडा बोकी काठमाडौंबाट भद्रपुरतर्फ आउँदै गरेको मारुती कार्गो भेन सहित २ जनालाई इटहरीमा नियन्त्रणमा लिएपछि अनुसन्धानको सिलसिलामा भन्दै घोषलाई भोलिपल्ट भद्रपुरस्थित घरबाट गिरफ्तार गरिएको भनिए पनि आफ्नो सामान पक्राउ पर्नुको कारण बारे बुझ्न जाँदा उनलाई कार्यालयमै राखिएको बुझिएको छ ।
उक्त सामानसहितको भेन डीएसपी चिमरिया कमाण्डको टोलीले पक्राउ गरेको र राअका.मा बुझाएको थाहा भएको छ ।
राअका.का अनुसार– भद्रपुरस्थित शिव स्टोरका सञ्चालक सञ्जीव घोषले नक्कली भ्याट बिलको प्रयोग गर्दै व्यवसाय गर्दै आएकोले अनुसन्धानका लागि गिरफ्तार गरिएको हो । कार्यालयले भेनमा बरामद कुर्ता–सुरुवाल लगायतका कपडाको करीब ४० लाख रुपैयाँ मूल्यांकन गर्दै सुनसरी जिल्ला अदालतमा मुद्दा पेशेको छ भने हाल २१ दिने म्याद राखेर अनुसन्धान जारी राखेको जनाएको छ ।
घोषलाई चाहिं पक्राउ गरेपछि झुम्कास्थित सुनसरी कारागारमा चलान गरिएको अवस्थामा प्रेसर–सुगर लगायत रोगका कारण बिरामी परेपछि १९ गते बिराटनगरस्थित विराट नर्सिङ होममा उपचारार्थ भर्ना गरिएको बुझिएको छ ।
राअका.इटहरीका प्रमुख जयबहादुर भण्डारीले भनेका छन्– व्यापारी घोषले लामो समयदेखि नक्कली भ्याट बिलको प्रयोग गरेर कारोबार गर्दै आएको र हालसम्म करीब ८ करोडभन्दा बढी राजश्व छली भएको प्रारम्भिक अनुमान गरिएको छ ।
सामान र व्यापारी पक्राउ गरेर अनुसन्धान गरिरहेको निकायले भोलिका दिनमा कस्तो निर्णय लिन्छ, प्रामाणिकता कति कायम गर्छ– त्यो आफ्नो ठाउँमा छ । तर, पक्राउ गरिएको सामानको बिजक जारी गर्ने ‘सूर्य ईन्टरप्राइजेज’ नामक फर्म काठमाडौं निवासी व्यक्तिको हो र त्यहाँबाट जारी बिजकमा खरीदकर्ताको नाम ‘शिव स्टोर’ उल्लेख छ । यद्यपि, यो समाचार तयार पारुञ्जेलसम्म सूर्य ईन्टरप्राइजेजको हकमा चाहिं के कार्बाही वा अनुसन्धान हुँदैछ वा छैन– जानकारी पाइन्न । अर्थात्, बिक्रेता सूर्य ईन्टरप्राइजेजले नक्कली भ्याट बिल जारी गरेको हो कि क्रेता शिव स्टोरले ? जबकि सामानसहित गाडीमा बरामद बिल जारी गर्ने फर्म शिव स्टोर होइन ! सम्भवतः सामान बेच्नेले बिजक जारी गर्छ र त्यो नक्कली भनिएको भ्याट बिल काट्ने फर्म सूर्य ईन्टरप्राइजेज, काठमाडौं हो ।
यति मात्र पनि होइन, राअका.ले अनुसन्धानकै सिलसिलामा व्यापारी घोषलाई पक्राउ गरेको ३ दिनपछि भद्रपुरपस्थित पसल (शिव स्टोर), गोदाम र घोषको घरमा समेत छापा मारेको थियो । तर, त्यसबखत कहीं पनि शंकास्पद कागजात वा वस्तु फेला नपरेको बुझिएको छ र पसल खुला अवस्थामा नै रहेको पाइन्छ ।
कार्गो भेनमा बरामद सामान करीब ७–८ लाख मूल्य बराबरको हुनसक्ने क्रेता पक्षको जिकीर छ । यस प्रकरणमा राअका.को पूर्वाञ्चल क्षेत्रीय कार्यालयले पक्राउ गरेको व्यापारी घोषलाई १ करोड ४२ लाख र भेन चालक तथा सहयोगीको साढे ७ लाख÷साढे ७ लाख गरी १ करोड ५७ लाख धरौटी माग गरेपछि सो रकम बुझाउन नसक्दा पुर्पक्षका लागि भन्दै कारागार चलान गरेको जनाएको छ ।
यस प्रकरणमा केही व्यापारीहरूले नै सुराकीको काम गरी घोषविरुद्ध लागेको र यो खेल केही हदसम्म राजनीति प्रेरित पनि रहेको स्रोतको कथन छ । साप्ताहिक समाचारबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

