
काठमाडौँ, २५ भदौ । भारतमा पछिल्लो २४ घण्टामा ९५ हजारभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन ९५ हजार सात सय ३५ जनामा सङ्क्रमण देखिएको हो । भारतमा एकैदिन सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।
कोभिड–१९ सङ्क्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा एक हजार एक सय ७२ जनाको ज्यान गएको छ । अब भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४४ लाख ६५ हजार पुगेको छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयले भनेको छ, ‘भारतमा अहिले नौ लाख १९ हजार १८ जना सक्रिय सङ्क्रमित रहेका छन् भने ३४ लाख ७१ हजार सात सय ८४ जना सङ्क्रमित भएपछि पनि निको भइसकेका छन् ।’
बुधबार मात्रै भारतमा ११ लाख जनाको कोरोना परीक्षण भएको थियो । केही दिनयता कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढ्न थालेपछि भारत सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या हुने देशमा दोस्रो स्थानमा रहेको छ ।
यसअघि ब्राजिल दोस्रो स्थानमा रहेकोमा अहिले तेस्रो स्थानमा छ । पहिलो नम्बरमा भने अमेरिका यथावत् छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



