
बिर्तामोड, ३१ भदौ । एकका लागि एक अभियान अन्तरगत स्थापना गरिएको झापाको कनकाई नगरपालिका–४ स्थित कोटीहोमको कोरोना परीक्षण प्रयोगशाला (पीसीआर ल्याब) उद्घाटन गरिएको छ ।
एक कार्यक्रमका बीच आज ल्याबको प्रदेश सरकार प्रमुख सोमनाथ अधिकारी प्यासीले उद्घाटन गर्नुभएको हो । पिसिआर मेशिनको उद्घाटन गर्नु हुँदै प्यासीले सबै जनता, दल र सरकारको साझा मेहनतबाट उक्त पिसिआर मेशिनको स्थापना हुन सकेको भन्दै झापाबासीको यो सामुहिक भावनाको सिको सबै देशबासीले गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कोरोना कहरबाट बिजय प्राप्त गर्नका लागि पिसिआर मेशिन उपयोगी हुने बताउनुभयो ।
एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले सानो सहयोगबाट पनि ठुला अभियान संचालन गर्न सकिने शिक्षा अभियानबाट प्राप्त भएको बताउनुभयो । उहाँले गरिब र दिनदुखीलाई सहयोग गर्ने लक्ष्यका साथ अभियान संचालन गरेकोमा हालसम्म दुई करोड रुपैँया संकलन गर्न सफल भएको र पिसिआर मेशिनका लागि एक करोड रुपैँया खर्च गरिएको जानकारी दिनुभयो ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकाले पिसिआर मेशिन संचालनका लागि हालका लागि डाक्टर प्राविधिकको व्यवस्थापन गरेको बताउँदै आगामी दिनमा कोरोना महामारीपछि पनि अन्य विभिन्न महामारीका लागि मेशिन प्रयोगमा ल्याउने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपाका प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे, झापा क्षेत्रनम्बर ४ का प्रदेशसभा सदस्य हिराकुमार थापा, नेकपा झापा अध्यक्ष चिन्तन पाठक, कांग्रेस सभापति उद्धव थापा, संघीय समाजवादीका अर्जुनसिंह राजवंशी लगायतले पिसिआर मेसिनको दिगो व्यावस्थापनमा सबैको साथ सहयोग हुनुपर्ने बताउनुभयो ।
मेची प्रादेशिक अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार महासंघ झापाका उपाध्यक्ष पत्रकार एकराज गिरीले संचालन गर्नुभएको थियो भने अभियानका तर्फबाट अभियान्ता बिनोद बस्नेतले धन्यावाद दिनुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



