
झापा, ८ असोज । कोरोना भाइरस संक्रमणका कारण सप्तरीमा सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत सत्यनारायण यादवको मृत्यु भएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले रातोपाटीलाई बताए ।
सत्यनायारायण जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी हुन् । प्रमुख जिल्ला अधिकारीको भान्से समेत रहेका सत्यनारायणलाई कर्मचारीले ‘काका’ भनेर बोलाउँथे ।
११ दिनअघि उनको स्वाव परिक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उनलाई राजविराज स्थित साईकृष्ण मेडिकल कलेज भवनको आईसोलेशनमा राखिएको थियो । उनको गएराती मृत्यु भएको बताइएको छ ।
यता, चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु भएको छ ।
तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो ।
डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो । कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भईरहेको थियो । उपचारका क्रममा राति उनको मृत्यु भएको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



