
काठमाडौं, ६ कात्तिक । निःशुल्क उपचारको सुविधा पाउने कोरोना संक्रमितले कोरोना भाइरस बीमा गरेको भए पनि त्यसको दाबी भने नपाउने भएका छन् ।
गत असोज १९ गते सम्पन्न मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको थियो । यसैअनुसार बुधवार बीमा समितिले परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयन गर्न निर्जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।
आर्थिक रूपमा विपन्न, अशक्त र असहाय नागरिक, असहाय एकल महिला, अति अपांगता, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइका कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको परीक्षण तथा उपचार निःशुल्क हुने व्यवस्था छ ।
उनीहरूले कोरोना बीमा गरेको भए परीक्षणदेखि उपचारसम्मको खर्च बीमा रकमबाट बेहोर्ने गरी सरकारले नयाँ व्यवस्था गरेको हो । सरकारले कोरोना भाइरसको संक्रमणको उपचारबापत अस्पतालहरूलाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश–२०७७ को दोस्रो संशोधन गर्दै यस्तो व्यवस्था गरेको थियो ।
यस सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार मात्र बीमा समितिलाई जानकारी दिएको हो । जानकारी पाएपछि यस व्यवस्थालाई कार्यान्वयन गर्न निर्देशन जारी गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
‘बीमितहरूले दोहोरो सुविधा नपाऊन् भनेर नै यस्तो व्यवस्था गरिएको हो । अब बीमा कम्पनीहरूले सोहीअनुसार दाबी भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्छ,’ उनले भने, ‘यो व्यवस्था गत असोज २९ गतेदेखि नै लागू हुनेछ । तसर्थ, बीमा कम्पनीहरूले सोहीअनुसार नै आवश्यक व्यवस्था गर्नुपर्छ ।’
उपचार गरेर बाँकी हुन सक्ने बीमा रकम के गर्ने भन्ने विषयमा स्पष्ट निर्णय गरिएको छैन । ‘सम्भवतः सरकारले उपचार गर्ने भइसकेपछि सम्बद्ध बीमितले कुनै पनि रकम पाउँदैनन् । तर, हामी यस विषयमा एकपटक स्वास्थ्य मन्त्रालयसँग छलफल गर्नेछौं,’ पौडलले भने ।
कोरोना संक्रमित हुँदा आफ्नै खर्चमा उपचार गर्नुपर्ने बीमित व्यक्तिको हकमा भने यो व्यवस्था लागू नहुने उनको भनाइ छ । कोरोना संक्रमितहरूकोे उपचार खर्च सरकारले नै बेहोर्दै आएको थियो । तर, पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले मापदण्ड तोक्दै उपचारबाट आफ्नो हात झिक्दै आएको छ । सोही क्रममा नै सरकारले बीमितहरूको उपचार खर्च बीमा रकमबाट बेहोर्ने नीति ल्याएको हो । आजको आर्थिक अभियानमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



