
झापा, ६ कात्तिक । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको पीसीआर ल्याब दसैंमा पनि खुल्ला हुने भएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै दसैं बिदामा पनि पीसीआर परीक्षण जारी राखिने नोबेल अस्पतालले जनाएको छ ।
कोरोनाको महामारी बढीरहेकाले नागरिकको आवश्यकता र सहजतालाई मध्यनजर गर्दै दसैंको अवधिमा पनि पीसीआर परीक्षण जारी राख्ने निर्णय भएको नोबेल अस्पतालका निर्देशक डा।राजेश नेपालले जानकारी दिए । ‘दसैंमा पनि पीसीआर परीक्षण रोकिँदैन । हामीले दसैं बिदामा पनि पीसीआर परीक्षण गरेर ५ घण्टामै रिपोर्ट दिने व्यवस्था मिलाएका छौं ।’
दुई वटा अत्याधुनिक अमेरिकन पीसीआर मेसिन ल्याएर गत असोज ११ गतेबाट नोबेलले पीसीआर परीक्षण गर्दै आएको छ । नोबेलले अस्पतालमा आउँनेको मात्र नभई गाउँ–गाउँमा गएर पनि स्वाब संकलन गरी अतिरिक्त शुल्क बिना नै पीसीआर परीक्षण गर्ने व्यवस्था पनि मिलाएको छ ।
यता, दसैं बिदाका कारण शुक्रबारदेखि मंगलबारसम्म पाँच दिन ओपीडी सेवा बन्द हुँने भएपनि सो अवधिमा आकस्मिक अवस्थाका सबै बिरामीको उपचार इमर्जेन्सीबाट गरिने नोबेल अस्पतालले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



