
गौरीगञ्ज, ६ भदौ । सरकारले तोकेको न्यूनतम पारिश्रमिक समेत नपाउने भएपछि बाल बिकास केन्द्रका शिक्षकहरु आन्दोलित भएका छन् ।
आन्दोलन स्वरुप बिभिन्न आठ बुँदे माग राखी बाल बिकाश केन्द्रका शिक्षकहरुले गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठलाइ ज्ञापन पत्र बुझाएका छन् । संघ प्रदेश र स्थानीय सरकारले बनाउने शिक्षा ऐनमा बाल बिकाश केन्द्रलाई शिक्षा नियमावलीको आठौ र नवौ संशोधनबाट आधारभुत तहको संरचनामा समावेश गरेर दरवन्दी कायम गर्नुपर्ने ‚ प्रारम्भिक बाल बिकास केन्द्रमा कार्यरत शिक्षकलाई सामान्य प्रकृयाबाट दरबन्दीमा समायोजन गरिनु पर्ने ‚ बाल बिकास केन्द्रका शिक्षकहरुको सेवा सर्त र सुविधा आधारभुत प्राबि तह सरह कायम गरिनु पर्ने तथा स्थायी प्रकृया अगाडि बढाउनु पर्ने ‚ कार्य अबधि गणना गरि उमेरको हदबन्दी लगाइनु पर्ने ‚ पूर्ण बालमैत्री कक्षाको ब्यवस्था गरिनु पर्ने, प्राबिधिक युक्त तालिमको ब्यबस्था गरिनु पर्ने ,लगायतका माग राखि ज्ञापन पत्र बुझाइएको हो ।

प्रअहरुको तर्फबाट बोल्दै गोपाल प्रसाद ताजपुरियाले बलियो बाल बिकास बिना गुणस्तरिय शिक्षा संभव नभएकाले बाल बिकास शिक्षकहरुका मागहरु जायज भएको र सरकारले यथाशिघ्र सम्बोधन गर्नुपर्ने बताए । गाउँपालिकाका शिक्षा प्रमुख डिल्ली राम अधिकारीले सरकारले नै मासिक रु १३ हजार ४ सय पचास भन्दा कम पारिश्रमिकमा कसैलाई पनि काममा लगाउन नहुने घोषणा गरेको बेला बाल बिकास शिक्षकहरुलाई रु ६ हजार मात्र तलव दिइनु आफैमा बिडम्वना पूर्ण रहेको बताए ।
तेजकुमारी श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा सभापति रञ्जु बस्नेतले ज्ञापन पत्र बाचन गरेकी थिइन् भने ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बाल बिकास शिक्षकहरुले पेश गरेका कतिपय मागहरु स्थानीय सरकारको अधिकार क्षेत्र भन्दा बाहिर रहेको भन्दै ति मागहरुका सम्बन्धमा प्रदेश र केन्द्र सरकारसँग पहल गर्ने र आफ्नो अधिकार क्षेत्रमा पर्ने मागहरुलाई सकारात्मक रुपमा लिइ समस्या समाधानार्थ पहल गर्ने बताए । रञ्जु बस्नेतको सभापतित्वमा औपचारिक कार्यक्रमको आयोजना गरि उनिहरुले सो ज्ञापन पत्र बुझाएका हुन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
