
झापा, ८ भदौ । झापाका दुई स्थानमा आज दुर्घटना हुँदा ३९ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरत झापाको कमल गाउँपालिका–४ चुलाचुली मोडमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ५१६६ नम्बरको बसले बाटो काट्दै गरेको को १० प ५९८३ नम्बरको मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित भई पल्टिदा बसमा सवार ९ जनासहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घाइतेहरुलाई दमकस्थित लाइफलाइन अस्पतालमा लगिएको छ भने बस चालक मोरङ हरैँचा–१० का २८ वर्षीय अर्जुन गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, पूर्व–पश्चिम राजमार्ग अन्तरगत झापाको कनकाई नगरपालिका–४ कोटीहोम नजिकै दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिम जाँदै गरेको को १ ख ६८१२ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको को १ ख १८८३ नं को ट्रक एकापसमा ठक्कर खाई दुर्घटना हुँदा बसमा सवार यात्रु घाइते भएका हुन् ।
घाइतेमध्ये २१ जनाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ भने पाँच जनाको प्रधानमेडिकल सुरुङ्गा र दुई जनाको बिर्तामोड बिर्ता सिटी हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
ट्रक, बस र बसका चालक सुनसरी चतरा नपा–२ का ३८ वर्षीय ३८ को खड्कबहादुर थापालाई नियन्त्रणमा लिइएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

