
झापा, १४ भदौ । झापा घर भई वैदेशिक रोजगारका लागि योङ मेनपावर कम्पनीमार्फत दुबई पुगेका तीन युवा अलपत्र परेका छन् । झापाका २५ वर्षीय एलिस शर्मा, २६ वर्षीय दुर्योधन राजवंशी र २६ वर्षकै हरिनारायण राजवंशी दुवईमा अलपत्र परेका हुन् ।
प्याकिङकामको लागि भनेर इभर गोल्ड मिडल इस्ट क्लिनिङ सर्भिसेस् कम्पनीमा काम गर्न गएका उनीहरुले भनेको जस्तो काम नभएर फोहोर उठाउने, लोड अनलोड जस्ता कठिन काममा अहोरात्र खटिँदा पनि पारिश्रमिक नपाएपछि अलपत्र परेका हुन् । उनीहरु कामका लागि दुवई गएको साढे दुई महिना बितिसक्दा पनि पारिश्रमिक नपाएपछि पीडितका आफन्तहरुले योङ मेनपावर कम्पनी विरुद्ध ठगीको मुद्दा दायर गरेका छन् ।
उनीहरुले मेनपावर विरुद्ध यहि जेठ ८ गते वैदेशिक रोजगार विभाग बुद्धनगर उजुरी शाखामा मुद्दा दायर गरेका हुन् । सम्झौता पत्रमा मेनपावर कम्पनीले उनीहरुलाई कम्पनी भित्रै सामान प्याकिङको काम भएको र दैनिक आठ घण्टा काम गरे बापत मासिक ९ सय रियल र थप ओभर टाइम गरेबापत थप रकम पाउने लगाएत खाने बस्ने सुविधा फ्री भनिए पनि सो अनुुसारको केही सुविधा नभएको खबर रोजगारका लागि दुवई पुगेका युवाहरुले आफन्तलाई दिएपछि उक्त मेनपावर कम्पनी विरुद्ध पीडितका आफन्तले ठगीको मुद्दा दायर गरेका हुन् ।
पीडितहरुले दुवईमा दैनिक सोह्र÷सत्र घण्टा काम गर्नु परेको उनीहरुका आफन्तले बताएका छन् । काम गर्ने समय आठ घण्टा भने पनि उनीहरुले सोह्र÷ सत्र घण्टा काम गर्दा समेत पारिश्रमिक पाएका छैनन् ।
यता वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीलाई पीडित पक्षलाई तत्काल उद्धार गरी क्षतिपूर्ति बेहोर्न निर्देशन दिएको छ । मेनपावर कम्पनीले भने काममा अटेर गरेर विभागमा उपस्थित जनाएको छैन । मेनपावर कम्पनी विरुद्ध पीडितका आफन्त भने आक्रोशित बनेका छन् ।
दुवईमा अलपत्र परेका एलिशलाई उद्धार गर्न उनकी बहिनी सुस्मीता शर्मा, दुर्योधनलाई उद्धार गर्न उनका बुबा वाशुदेव राजवंशी र हरिनारायणलाई उद्धार गर्न उनका बुवा मानसिहं कुमार राजवंशी गत ६ दिन देखि विभाग धाइरहेका छन् ।
मेनपावर कम्पनीले उनीहरुले काम गरेको पारिश्रमिक दिलाई तत्काल उद्धार गरेर सम्पूर्ण क्षतिपूर्ति बेर्होर्नु पर्ने उनीहरुको माग छ । उनीहरु झापादेखि काठमाडौं आउँदा, काठमाडौँ बस्दा, खाँदा को आर्थिक भार त छँदैछ त्यसमाथि पनि हरेक दिन विभाग धाउनु पर्दा थप समस्यामा परेको उनीहरुको गुनासो छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

