
तित्रा
कसो–कसो गरेर प्रधानमन्त्री त भइयो, तर त्यत्ति मज्जा आउला जस्तो छैन । यो पाँचौं पटकको प्रधानमन्त्रीले त भोक निन्द्रा अमनचैन सबै हरण गर्यो । वास्तवमा यो लोकतन्त्रमा प्रतिपक्षी, विरोधी भन्ने कुरा अफापसिद्ध नै हुने रहेछ । भए नभएका कुरा जोडजाड पारेर मनपरी बोल्छन् । जनादेश होइन, परमादेशबाट बनेको प्रधानमन्त्री भनेर दुनियाँले गीत गाइरहेका छन् । श्रीमान् पाँच न्यायधीशहरूको टिके प्रधानमन्त्री भन्नसम्म भ्याएका छन् । देशी विदेशीहरूको सेटिङबाट आएको, देशको काम गर्न होइन विदेशीकै काम गर्न, तिनकै इशारामा नाच्न आएकोसम्म भनेर मुख चलाए दुर्मुखाहरूले ।
अघिल्लो पटक प्रधानमन्त्री हुँदा व्यहोरेको त्यो एमसीसी भन्ने घाँडो भूतप्रेत बनेर यसैबेला आइलागेको छ । न उता फर्किएर गर्दिन भन्ने आँट छ, न यता जनतातिर फर्किएर गर्छु भन्ने हिम्मत छ ! निल्नु न ओकल्नु ! सारा दुनियाँले ‘खबरदार ! त्यो एम.सी.सी. पास गर्लास्’ भनेर औंलो ठड्याइरहेका छन् । जनता भन्ने भुसुनालाई त पेलपाल गर्न पनि सकिन्थ्यो होला, तर तिनका प्रतिनिधि सांसदहरू नै मिडियामा गएर नौरंगी कुरा कोरल्दै बुरुकबुरुक उफ्रिंदै छन् । यो एम.सी.सी. वास्तवमा राम्रो हो कि नराम्रो, उपकारी हो वा हानिकारक – म आफैले पनि बुझेको छैन । सबै काम कुरा अंग्रेजीमा लेखेका छन्, के बुझ्नु त्यो ? नेपाली भाषा जान्ने बुझ्नेले पनि कानूनी भाषा नबुझेर अदालतका प्रत्येक फैसला बुझ्न कानूनचीहरूको सहारा लिनु पर्छ भने यो त अंग्रेजीमा लेखेको र त्यो पनि कानूनका कुरा कसरी बुझ्नु ! तिनै एम.सी.सी.वाला विदेशीले भनेको त्यो राम्रो छ अरे ! यसले देशको विकास हुन्छ अरे !
एम.सी.सी.को सबैभन्दा चाखलाग्दो लोभलाग्दो कुरा चाहिं सित्तैमा पैसा दिन्छ भन्ने नै हो । ऋण तिर्नु नपर्ने, ब्याज लाग्ने कुरै भएन, हामीलाई दायामाया गरेर दिएको पैसो किन नलिने ? पैसा भएपछि महादेवका त तीन नेत्र भन्छन्, म त के सामान्य देशको सामान्य प्रधानमन्त्री ! सित्तैको पैसा ल्याएर खाएपछि खाएकोखाएइ हुन्छ । विकासको नाउँमा थोरबहुत ओप्सानी हाल्दा भइहाल्छ । धेरै मान्छेको यहाँ रोग रौं फेरिन्छन् । समय अनुसार पो चल्नु सक्नु पर्छ त मान्छेले । मूर्खहरू कुरै नबुझी विरोध गर्छन् । अंग्रेजीमा लेखेको एम.सी.सी. मैले त बुझेको छैन, यिनीहरू चाहिँ के बुझेर विरोधको स्वर उराल्छन् ? वाइयात !
अँ… उहिले एक जमाना थियो । मान्छे सदाचारी थिए, अनुशासित थिए, पाप धर्म थियो, इमान इज्जत थियो, नीति नियम र नैतिकता थियो । त्यसबेलामा बाटामा कसैले खसाएको केही पैसा फेला पर्यो भने घरभित्र हुल्दैन थिए, तुलसीको मोठमा लगेर चढाउँथे । कुनै गरीबगुरुवा जोगी साधुलाई दान दिन्थे । सित्तैमा कसैको केही नलिनु, नखानु; त्यसले राम्रो गर्दैन, रोग लाग्छ, दसा लाग्छ, आफ्नो पसिनाको कमाइमा त्यो मिसायो भने सर्वनाश हुन्छ भन्ने विश्वास थियो । तर, अहिले त त्यो जमाना होइन, मान्छे कहाँबाट कहाँ पुगिसके । भिरङ्गीबाट एडस् हुँदै कोरोनासम्म उक्लिसके भने अझै पनि अर्काको पैसा सित्तैमा नखानु भन्ने पश्चगामी सोच पालेर बस्नु हुन्छ ? यी जनता भन्ने पछौटे, अनपढ, जंगलीहरूलाई कहिल्यै सचेत शिक्षित बनाउन नसकिने रहेछ । उनीहरू त अझै पनि ‘सित्तैको पैसामा पाप कल्मष लुकेको हुन्छ, एम.सी.सी.को पैसा लिनु हुँदैन । खबरदार ! त्यो पैसा स्वीकार गर्लास्’ भनेर मलाई चेतावनी दिन्छन् । पटमूर्खहरू !
जनता त मूर्ख भए–भए, तिनका प्रतिनिधि भनाउँदा, सांसद र नेता भनाउँदा, आधुनिक भइसकेका, काठमाडौंमा महल उभ्याइसकेका; तर मार्न पल्किसकेका, वैभवमा पौडिरहेका, गाउँघर बिर्सिसकेका, सम्पत्ति चिनिसकेका नेताहरूले त मलाई साथ दिनु पर्ने हो नि, तिनीहरू पनि नो एम.सी.सी. भनेर किन बाउँठिएका र पसाङ्गिएका ? यिनको चाला र चरित्र देखेर छक्क पर्छु । उनीहरू अहिले वैभवको राशमा कसरी विराजमान भएका हुन् भन्ने कुरो म जत्तिको अनुभवी, भुक्तभोगी, भेगियारीलाई थाहा छैन र ? मैले के गरें, अरू–अरूले के के गरे, पाप कल्मष कस–कसले, कसरी–कसरी, कति–कति बटुले भन्ने कुरा मेरो नजरबाट लुकेको छिपेको छ र ? एम.सी.सी. मात्रै पास नहोस् न, यी सबको कालो कर्तुतको आन्द्र्राभुँडी कसरी छरष्ट पार्दाेरहेछु, हेरुन् न । बरू आफ्नै पनि आन्द्राभुँडी छरिए छरियोस् ! यो त पाँचौं पटकको प्रधानमन्त्रीकाल हो, ज्योतिषीका अनुसार अझै दुई पटक बाँकी छ । हैन के सोचेका छन् यिनीहरूले मलाई ?
प्रधानमन्त्री भएपछि गरेको एउटा गतिलो काम भनेको त्यही पार्टी फुटाउन मिल्ने अध्यादेश हो । पार्टी अध्यक्ष खान नपाएर भोकले मर्नै लागेका केही बैगुनी नेताहरूको जयकल्याण गर्दिएँ । यिनीहरूले मैले लगाएको गुन तिर्छन् कि के गर्छन्, एम.सी.सी. प्रकरणमा जाँच हुन्छ । आफ्नो पार्टीलाई ठूलो, बलियो, गतिलो बनाउन पनि कसैगरी सकिएन । नेताहरू ओखर र पाङ्ग्रा जस्ता छन् । अर्काको पार्टी फोर्दिएपछि आफ्नो पार्टी स्वतः ठूलो हुने जुक्ति बुद्धि ट्याक्टिस लगाएर पार्टीको हित गरेको हुँ । हेरौं, पार्टीमा मेरो कस्तो मूल्याङ्कन हुँदो रहेछ । कम्युनिष्टलाई गुन लगायो भने आफैलाई घुन लगाउँछन् भनेर साथीहरू भन्छन,् मलाई पनि उत्रो विश्वास चाहिँ छैन । अनेक पार्टीबाट फुटेर आएकाहरू सबै मिलेर आफैैंसँग आइलाग्न बेर लाग्दैन ।
म शान्त भएर आरामचैनले बसिरहेको मान्छेलाई यिनै बामपन्थीहरूले प्रधानमन्त्री बन्न उकासे, हतेरेरै अगाडि ल्याए । प्रतिपक्षको नेता थिएँ, प्रधानमन्त्रीसँग रामै्र सम्बन्ध थियो । उनले मेरो भाग छुट्याएकै थिए । मलिला र शक्तिशाली ठाउँमा आफ्ना मान्छे पुर्याएकै थिएँ । बरू अहिले आफैं प्रधानमन्त्री बन्दा त्यति काम गर्न मुश्किल परिरहेको छ । फुटेर, चोइटिएर आएकाहरू हामीले तिमीलाई प्रधानमन्त्री बनाएको, विश्वासको मत दिएको हुनाले काम पनि हामीले भनेबमोजिम गर्नु पर्छ भनेर घुर्की धम्की लाउन थालेका छन् । आफूले खुवाइ पिलाइ गराएका ढाडेहरू अहिले आफैलाई ङ्यार्र गरेर आइलाग्न खोज्दैछन् । लाखेस् एम.सी.सी.को झ्याउलो मात्रै टुङ्गो लागोस् न, अनि के के गर्दाेरहेछु ।
बाटामा पलेंटी मारेर बसेका सडकछापहरूलाई अनेक अक्कल भिडाएर सरकारमा ल्याइदिएको छु । आइपुग्न भ्याएको छैन, धेरैभन्दा धेरै मन्त्री तिनीहरूलाई नै चाहिने अरे ! पैसा फल्ने मलिला रसिला मालदार मन्त्रालयहरू तिनीहरूलाई टक्रयाउनु पर्ने अरे ! नजिकै निर्वाचन आउँदैछ, अनि मालदार मन्त्रालय जति तिनलाई दिएर हामीलाई चाहिँ पैसा चाहिंदैन ? मेरा पार्टीका मान्छेले के भन्छन् मलाई ? हाम्रा पार्टीका गुण्डा, डन, बिचौलिया, तस्कर, माफियाहरू जुकाले झैं मुख ठाडो पारेर बसेका छन् । तिनीहरूलाई यसो चारो छर्न सकिएन भने चुनावमा शर्मनाक हार हुन्छ । त्यसको अपजस पदीय हिसाबले मैले नै व्यहोर्न पर्ने हुन्छ । एम.सी.सी.को छिनोफानो हुनु अघि मन्त्रालयको बाँडफाँड गर्दै गर्दिन । मन्त्रालयको फिलो कजेजो ह्याकुलो जति तिनलाई जिम्मा लगाएर आफूले चाहिँ पुछ्रेमा चित्त बुझाउनु पर्ने ? वाइयात ! यी कम्युनिष्ट भन्नेहरू काम लाग्दैनन् । बैगुनीहरू !
अर्कातिर, दुई महिना बितिसक्ता पनि मन्त्रिमण्डल विस्तार गर्न नसक्ने असक्षम प्रधानमन्त्री भनेर मिडियाहरूले ढोल ढ्याङ्ग्रो पिटिरहेका छन् । जनता मिडियाकै पछि लागेर हुइँया मच्चाइरहेका छन् । यी मिडिया कस्ता छन्, कस्ता हुन्छन् भन्ने मलाई राम्रो थाहा छ । यिनलाई एक दिन बोलाएर तिनका भोका दाम्रा पेटका जुका नाम्ले चुर्ना झर्नेगरी खोया–खाजा गरेर गोटा दुएक हजार, पाँच सय गोजीमा हाल्दिनु हो भने भोलिपल्टदेखि आरती उतार्दै भजन–कीर्तन गर्न थाल्छन् । मैले सबैको ह्याकुलो कलेजो राम्ररी छामेको छु । एम.सी.सी.बाट आउने रकमको एक प्रतिशत मात्रै यिनलाई छुट्याइदिनु हो भने – आकाश पताल जोडेर, कुरा बाटेर, दुनियाँ ढाँटेर एम.सी.सी. देशको अपरिहार्य कुरो हो भन्ने गीतै बनाएर गाउँथे ।
मन्त्रिमण्डल विस्तार किन नगरेको भन्ने कुरा यी ग्वाँच बुद्धु जनतालाई के थाहा ? अहिल्यै यति छिटृै मन्त्रिमण्डल विस्तार गर्दा आफ्नै पार्टीका मान्छे मन्त्री नपाएर असन्तुष्ट भएकाहरूले अर्को पार्टी खोल्न सक्छन् । अन्य पार्टीबाट चोइटिएर आएकाहरू धुलिन सक्छन् । पार्टी चिर्न फुटाउनका निम्ति अध्यादेशरूपी नाङ्गो खुकुरी छँदैछ । अध्यादेशको नाङ्गो खुकुरीलाई दाबमा राख्न ढिलो भइसकेको छ । फेरि आफ्ना पार्टीका र गठबन्धनका अन्य पार्टीका डफेदार लाउकेहरूलाई मलिला मन्त्रालयहरूको आशैआशमा झुण्डाएर राख्नुको मज्जा अर्कै छ । एम.सी.सी.को कुरो सोझ्याएपछि के गर्नु पर्छ, त्यो त मलाई राम्ररी थाहा छ । अहिल्यै किन बिच्क्याउनु भनेर पो त !
यतिबेलै फेरि जयसिंह धामीलाई तुइनबाट झारेर इण्डियनहरूले मारे भन्ने कोलाहल मच्चिएको छ । कोरोनाले दैनिक दुई–तीन दर्जन मान्छे मरिरहेकै छन्, त्यो चाहिँ वास्ता छैन, बाघले खाए पनि, भिरबाट लडे पनि, पानीमा डुबे पनि मृत्यु एउटै हो भन्ने कस्तो ज्ञान नभएको ? कस्ले हो, पश्चिम नेपालको आकाशमा हेलिकोप्टर उडायो अरे भनेर सानो खैलाबैला छैन । आकाशमा उडाओस् कि पतालमा लैजाओस् – छु मतलब ? नेपाली भूमि छोएको छैन क्यार ! इण्डियासँग गएर लाप्पा खेल भने झैं पो गर्छन् त ए…! त्यो सकिने कुरा हो र ? भोलि नून तेल बन्द गर्दियो भने कस्ले जिम्मा लिन्छ ? वाइयात ! मेचीखबर साप्ताहिकबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



