
काठमाडौँ, १७ भदौ । नेपाली काङ्ग्रेसले पार्टीको विधान समयानुकूल परिमार्जनका लागि यही भदौ २३ गतेसम्म प्रारम्भिक मस्यौदा तयार गर्ने जनाएको छ ।
काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रारम्भिक मस्यौदालाई मूल समितिले भदौभित्र एकीकृत गरी सातै प्रदेशमा मस्यौदामाथि अन्तक्र्रिया गरिने जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा काङ्ग्रेस नेता एवं समितिका प्रवक्ता रमेश लेखकले प्रदेशस्तरमा अन्तक्र्रियापछि प्रारम्भिक मस्यौदामा प्राप्त सुझावका आधारमा अन्तिम मस्यौदा तयार गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पेश गरिने बताउनुभयो ।
समितिले गठन भएयता आफ्नो कार्यविधि स्वीकृत गरी विधान संशोधनका आधारहरु तय गर्नुका साथै पार्टीका विभिन्न निकाय, भातृ एवं शुभेच्छुक संस्था, जनसम्पर्क समितिलगायत सरोकारवालाबाट सुझाव सङ्कलन गरिरहेको जनाएको छ । मुलुकको नयाँ संरचना अनुसार काँग्रेसले वडा तहभन्दा मुनी बुथ, वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश, केन्द्र, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यअनुसार तहको पार्टी संरचना बनाउने तयारी गरेको छ ।
समितिले संशोधन मस्यौदालाई थप व्यवस्थित बनाउन तीन उपसमिति गठन गरेको नेता लेखकले बताउनुभयो । केन्द्रीय सदस्यहरु फरमुल्लाह मन्सुरको संयोजकत्वमा संरचनासम्बन्धी, डा मीनेन्द्र रिजालको संयोजकत्वमा कार्य विभाजन र मानबहादुर विश्वकर्माको संयोजकत्वमा अन्य निकाय तथा आन्तरिक व्यवस्थापनसम्बन्धी उपसमिति गठन गरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
