
काठमाडौँ, १८ भदौ । प्रतिनिधिसभाको बैठकमा सांसदले विषयगत मन्त्रालयमाथि प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीलाई प्रश्न गर्ने र प्रधानमन्त्री एवं मन्त्रीले जवाफ दिने बारको निर्धारण गरिएको छ ।
सचिवालयद्वारा जारी सूचीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबारे प्रश्न सोध्नका लागि आइतबार निर्धारण गरिएको छ ।

त्यसैगरी रक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित प्रश्न सोध्नका लागि सोमबार तोकिएको छ । सांसदले स्वास्थ्य तथा जनससङ्ख्या, कानून, न्याय तथा संसदीय मामिला, सङ्घीय मामिला तथा सामान्य प्रशासन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित प्रश्न मङ्गलबार सोध्न सक्नेछन् ।
गृह, कृषि तथा पशुपक्षी विकास, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण र अर्थ मन्त्रालयसँग सम्बन्धित प्रश्न सोध्नका लागि बुधबार निर्धारण गरिएको छ । बिहीबार सांसदले परराष्ट्र, शहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र युवा तथा खेलकूद मन्त्रालयसँग सम्बन्धित प्रश्न सोध्न सक्नेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सञ्चार तथा सूचना प्रविधि, खानेपानी र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयसँग सम्बन्धित प्रश्न सोध्नका लागि शुक्रबार निर्धारण गरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
