
झापा, १९ मंसिर । भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरसका सङ्क्रमित देखा पर्न थालेसँगै सीमा क्षेत्रमा निर्माणाधीन होल्डिङ सेन्टरको निर्माणलाई तीव्र बनाइएको छ ।
पूर्वी नाका हुँदै भारतीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने नागरिकलाई लक्षित गरी मेचीनगर नगरपालिका–१४ दुहाढगीस्थित हडिया खोला किनारमा नेपाली सेनाको रेखदेख र संरक्षणमा बनिरहेको होल्डिङ सेन्टरको निर्माण अन्तिम चरणमा पुगेको छ ।
चार बिघा क्षेत्रफलमा एक हजार मान्छे अट्ने क्षमताको होल्डिङ सेन्टरमा २२ पक्की भवन बनाइएको छ । त्यसमध्ये १४ वटा क्वारेनटिन, दुई डाक्टर र स्वास्थ्यकर्मी बस्ने एडमिन भवन, १२ डाइनिङ हल, दुई एडमिन किचन, एउटा सेन्ट्रल किचन र १६ शौचालय तयार भइसकेका छन् । बाँकी संरचनाको फिनिसिङ गर्ने काम भइरहेको छ ।
नेपाल सरकारले कोरोना सङ्क्रमणको तेस्रो लहर आउनु पूर्व रु २५ करोडको लगानीमा आगामी पुस मसान्तभित्रमा निर्माण सक्ने गरी गत असार ३ गते हनुमान कन्स्ट्रक्सन ललितपुरसँग ठेक्का सम्झौता गरेको थियो । सुरुमा काँकडभिट्टा क्षेत्रमै होल्डिङ सेन्टर बनाउने भनिए पनि उपयुक्त जग्गा अभावमा नाकाबाट करिब २० किलोमिटर टाढा रहेको दुहागढीमा असार २२ गतेदेखि भवन बनाउन सुरु गरिएको थियो ।
चिकित्सकीय उपकरणसहितको होल्डिङ सेन्टरमा भारतबाट आएका नेपाली, भारतीय नागरिक र आफन्तविहीन सङ्क्रमितलाई उपचारका लागि राखिने मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले बताए।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



